यसको प्रमाण : अब्दुल्लाह बिन उमर (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुवै हात काँधसम्म उठाउदै सलाह आरम्भ गर्नुहुन्थ्यो । त्यसैगरी रूकु गर्दा र रूकुबाट उभिने बेला पनि दुवै हात काँधसम्म उठाउनु हुन्थ्यो अनि ‘समिअल्लाहु लिमन् हमिदह, रब्बना व लकल्-हम्द’ भन्नुहुन्थ्यो । तर, सज्दा गर्दा हात उठाउनु हुन्थेन ।” (बुखारी : ७३५), (मुस्लिम : ३९०)
इब्ने हुबैरह (रहेमहुल्लाह) ले भनेका छन् : “तक्बीरे तहरीमा गर्दा दुवै हात उठाउनु सुन्नत हो, वाजिब होइन भन्ने कुरामा ओलमाहरूको सर्वसम्मति रहेको छ ।” (अल्-इफ्साह १/१२३ मा हेर्नुहोस्)
सलाह पढ्दा ४ अवस्थाहरूमा दुवै हात उठाउनु हदीसबाट प्रमाणित छ :
१) तक्बीरे तहरीमा गर्दा ।
२) रूकु गर्दा ।
३) रूकु देखि उभिने बेला । यी त३ अवस्थाहरूको प्रमाण बुखारी र मुस्लिम दुवैमा छ ।
४) पहिलो तशह्हुद पछि तेस्रो रकातको लागि उठ्ने बेला । यसको प्रमाण इब्ने उमरको हदीस हो, जुन बुखारीमा छ ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाह पढ्दा दुवै हातलाई खुला तरिकाले माथि उठाउनु हुन्थ्यो ।” (अहमद : ८८७५), (अबू-दाऊद : ७५३), (तिर्मिजी :२४०) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सही अबू-दाऊद ३/३४१ मा हेर्नुहोस्)
तर, हात कहाँसम्म उठाउने बारे रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट २ तरिकाहरू प्रमाणित छन् :
१) काँधसम्म : अब्दुल्लाह बिन उमर (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै हात काँधसम्म उठाउनु हुन्थ्यो ।” (बुखारी : ७३५), (मुस्लिम : ३९०)
२) कानको लोतीसम्म : मालिक बिन हुवैरिस (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) दुबै हात (कहिलेकाहीं) कानको लोतीसम्म उठाउनु हुन्थ्यो ।” (मुस्लिम : ३९१)
अतः दुवै तरिका जायज हुन् ।
पहिलो तरिका : दायाँ हात बायाँ हातमाथि राख्नु अर्थात दायाँ हातले बायाँ हातलाई समाउनु ।
यसको प्रमाण : वाएल बिन हुज्र (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सलाह पढ्दा दायाँ हातले बायाँ हातलाई समाएको देखें ।” (अबू-दाऊद : ७५५), (निसाई : ८८८) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् ।
दोस्रो तरिका : दायाँ हात बायाँ हातको कलाई (नाडी) माथि राख्नु ।
यसको प्रमाण : सहल बिन साअ्द अस्साएदी (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले सलाह पढ्दा दायाँ हात बायाँ हातको कलाई (नाडी) माथि राख्न आदेश दिनुहुन्थ्यो ।” (बुखारी : ७४०)
त्यसैले कहिले दायाँ हात बायाँ हातमाथि राखी र कहिले दायाँ हात बायाँ हातको कलाई (नाडी) माथि राखी दुवै हदीसहरूमाथि अमल गर्न सकिन्छ ।
सना (इस्तिफ्ताह) पढ्ने धेरै तरिकाहरू छन्, त्यसैले हरेक तरिकाले सना पढ्नु सुन्नत हो ।
क) ‘सुब्हान कल्लाहुम्म व बिहम्दिक व तबार कस्मुक व तआला जद्दुक वला इला ह गैरूक’ ।” (अहमद : ११४७३), (अबू-दाऊद : ७७६), (तिर्मिजी :२४३), (निसाई : ९००) हदीसमा केही कलाम (कमजोरी) छ, तर इब्ने हजर (रहेमहुल्लाह) ले यो हदीसलाई हसन भनेका छन् । (नताएजुल्-अफ्कार १/४१२ मा हेर्नुहोस्)
ख) ‘अल्हम्दु लिल्लाहे हम्दन् कसीरन् तैय्येबन् मोबारकन् फीहे’ ।”
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो हदीसको महत्व बयान गर्दै भन्नुभएको छ : “यो हदीसलाई माथि पुर्याउनको लागि मैले १२ जना फरिश्ताहरूलाई प्रतिस्पर्धा गर्दै गरेको देखें ।” (मुस्लिम : ६००)
ग) “अल्लाहुम्म बाइद बैनी व बैन खताया य, कमा बाअत्त बैनल-मशरेके वल्मगरेबे, अल्लाहुम्म नक्केनी मिनल्खताया कमा युनक्कस्सौबुल अब्यजो मिनद्दनसे, अल्लाहुम्मग्सिलनी मिन् खतायाया बिल्माए वस्सलजे वल्बरदे ।”
अर्थः हे अल्लाह तआला, पूर्व र पश्चिम बीचको जत्तिकै दूरी म र मेरो पाप बीचको दूरी पार्नु होस्, हे अल्लाह, सेतो लुगा फोहरबाट दाग विहिन भइ सफा भए जस्तै मेरा पापहरूबाट मलाई पवित्र पार्नु होस्, हे अल्लाह, मेरा सम्पूर्ण पापहरूलाई पानी, असिना र बरफले धोइ दिनुहोस् । (बुखारी : ७४४), (मुस्लिम : ५९८)
घ) ‘अल्लाहु-अक्बर कबीरा, वल्-हम्दो लिल्लाहे कसीरा, व सुब्हानल्लाहे बुक्-रतन्-व असीला’ ।”
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले यो हदीसको महत्व दर्शाउँदै भन्नुभएको छ : “म आश्चर्य चकित भए, किनभने यो हदीसको लागि आकाशका ढोकाहरू खोलिएका छन् ।” (मुस्लिम : ६०१)
इस्तिआजह (अऊजो बिल्लाहि) पढ्नु सुन्नत हो । इस्तिआजहका धेरै तरिकाहरू हदीसमा उल्लेख गरिएका छन्, त्यसैले हरेक तरिकाले इस्तिआजह पढ्नु सुन्नत हो ।
क) ‘अऊजो बिल्लाहि मिनश्शैतानिर्रजीम’
अर्थ : पापी शैतानको उपद्रवदेखि अल्लाहको शरण चाहन्छु ।
जमहूर (अधिकांश) ओलमाहरूले यही तरिकालाई मन पराएका छन् । अल्लाह तआलाले भन्नुभएको छ : “कुर्आन पढ्दा ‘अऊजो बिल्लाहि मिनश्शैतानिर्रजीम’ पढ, ।” सूरह अन्-नहल : ९८)
ख) अऊजु बिल्लाहिस्समीइल्-अलीम मिनश्-शैता निर्रजीम’ ।
किनभने अल्लाह तआलाले भन्नुभएको छ : “.... फस्तइज् बिल्लाहि, इन्न्हु हुवस्समीउल्-अलीम’ पढ, ।” शैतानले उक्साउने बेलामा अल्लाहको शरण माग, निस्सन्देह उहाँ सर्वश्रोता र सर्वज्ञाता हुनुहुन्छ ।” (सूरह फुस्सिलत : ३६)
इस्तिआजह पढिसकेपछि ‘बिस्मिल्ला हिर्रहमा निर्रहीम’ पढ्नु सुन्नत हो ।
यसको प्रमाण : नोऐम (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “मैले अबू-हुरैरह (रदियल्लाहु अन्हु) को पछाडि सलाह पढें, उनले ‘बिस्मिल्ला हिर्रहमा निर्रहीम’ पढेपछि सूरह फातिहा पढे ... ।” सलाहपछि अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले सम्बोधन गर्दै भनें : “हेर, अल्लाहको कसम जसको हातमा मेरो ज्यान छ, हामीहरूमध्ये रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को सलाहसँग सबैभन्दा बढी मिल्दोजुल्दो सलाह मेरो हो ।” (निसाई : ९०६) र इब्ने खोजैमहले १/ २५१ मा ‘सही’ भनेका छन् । दार-कुतनीले यो हदीसलाई ‘सही’ र यसको रोवातलाई ‘सिकात’ भरपर्दो भनेका छन् । (अस्सुनन् : २/४६)
बिस्मिल्ला पढ्नु वाजिब होइन भन्ने कुराको प्रमाण के छ भने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले राम्रोसँग सलाह नपढ्ने व्यक्तिलाई यसको तालिम दिनुभएन, बरू उसलाई सीधा सूरह फातिहा पढ्न सिकाउनुभएको थियो ।” (बुखारी : ७५७), (मुस्लिम : ३९७)
सूरह फातिहाको तिलावतपछि जब इमामले आमीन भन्छ, मुक्तदीले पनि आमीन भन्नु सुन्नत हो ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब इमाम आमीन भन्छ, तिमीहरू पनि आमीन भन, किनभने जसको आमीन फरिश्ताको आमीनसँग मेल खान्छ, उसको अघिल्लो पाप पखालिनेछ ।” (बुखारी : ७८०), (मुस्लिम : ४१०)
सूरह फातिहा पढिसकेपछि पहिलो २ रकातमा सूरह पढ्नु सुन्नत हो । अधिकांश (जमहूर) ओलमाको यही भनाई हो ।
यसको प्रमाण : अबू-कतादह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) जोहर सलाहको पहिलो दुवै रकातहरूमा सूरह फातिहा पढिसकेपछि अरू कुनै एउटा सूरह पढ्नुहुन्थ्यो । पहिलो रकातमा अलि लामो र दोस्रोमा अलि छोटो सूरह पढ्नुहुन्थ्यो ।” (बुखारी : ७५९), (मुस्लिम : ४५१)
तर, मुक्तदीले जहरी (उच्च आवाजमा पढिने) सलाहमा सूरह फातिहा पढिसकेपछि केही पढ्नु मिल्दैन । उसले इमामलाई ध्यानपूर्वक सुन्नुपर्ने हुन्छ ।
इब्ने कोदामा (रहेमहुल्लाह) ले भनेका छन् : “प्रत्येक सलाहको पहिलो दुवै रकातहरूमा सूरह फातिहा पढिसकेपछि अरू कुनै एउटा सूरह पढ्नुपर्छ भन्ने कुरामा (धर्मगुरूहरूबीच) कुनै मतभेद छैन ।” (अल्-मुग्नी १/५६८ मा हेर्नुहोस्)