brightness_1
हाम्रा सलफ (अग्रज) हरू सुन्नतका लागि मरिहत्ते गर्थे :
१) नोमानले अम्रबाट, अम्रले अंबसहबाट, अंबसले उम्मे हबीबह (रदियल्लाहु अन्हा) बाट बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले दिन-रातमा १२ रकात सुन्नत (अतिरिक्त सलाह) पढ्छ, अल्लाह तआलाले उसको लागि जन्नत (स्वर्ग) मा घर बनाउनु हुनेछ ।” (मुस्लिम : १७२७)
उम्मे हबीबह (रदियल्लाहु अन्हा) ले बयान गरेकी छिन् : “जुन दिनदेखि मैले यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेकी छैन ।”
अंबसहले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस उम्मे हबीबह (रदियल्लाहु अन्हा) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
अम्र बिन औसले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस अंबसहबाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
नोमान बिन सालिमले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस अम्र बिन औसबाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
२) अली (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, चक्की पिस्दा-पिस्दै फातिमा (रसूल सल्लल्लाहु अलैहि वसल्लमकी कान्छी छोरी) को हातमा ठेला उठेको थियो । उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ युद्धका केही कैदीहरू ल्याइएका थिए । एउटा कामदार मलाई पनि चाहियो भनेर फातिमा (रदियल्लाहु अन्हा) आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रदियल्लाहु अन्हा) सित गरेर फर्किन् । उहाँ आउनु भएपछि आइशा (रदियल्लाहु अन्हा) ले सबै कुरा भनिन् । त्यसपछि उहाँ हाम्रो घर आउनुभयो । हामी ओछ्यानमा गइसकेका थियौं । हामी उहाँको लागि उभिन खोज्यौं, तर उहाँले तिमीहरू उठ्नु पर्दैन, बस भन्दै हामी दुवैजनाको बीचमा बस्नुभयो । मैले उहाँको गोडाको चिसोपन पनि महसुस गरें । उहाँले भन्नुभयो : “के म तिमीहरूलाई त्यो कुरा नभनुँ, जुन तिमीहरूले मागेको भन्दा उत्तम छ ? ल सुन, सुत्ने बेला ३४ पटक ‘अल्लाहु-अक्बर’, ३३ पटक ‘सुब्हानल्लाह’ र ३३ पटक ‘अल्हम्दु-लिल्लाह’ भन, यो तिमीहरूको लागि कामदार भन्दा पनि उत्तम छ ।” (बुखारी : ३७०५), (मुस्लिम : २७२७)
अर्को हदीसमा छ, अली (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “जुन दिनदेखि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन । उनीसँग सोधियो- सिफ्फीनको रातमा पनि ? उनले जवाफ दिए : हो सिफ्फीनको रातमा पनि छोडिनँ ।” (बुखारी : ५३६२), (मुस्लिम : २७२७)
‘सिफ्फीनको रात’ मा चर्को युद्ध भएको थियो र उनी (अली) स्वयम् त्यस युद्धको सेनापति थिए भन्ने कुरा सबैलाई अवगत नै छ, तैपनि उनले यो सुन्नत छोडेनन् ।
३) अब्दुल्लाह बिन उमर (रदियल्लाहु अन्हुमा) जनाजाको सलाह पढेपछि घर फर्किन्थे र यसैलाई असल सुन्नत ठान्दथे । किनभने उनलाई कब्रिस्तानमा दफन गरून्जेल जनाजालाई साथ दिनुपर्छ भन्ने कुरा थाहा थिएन । तर जब उनले जनाजालाई दफन गरून्जेल बस्दा कति पुण्य पाइन्छ भन्ने कुरा अबू-होरैरह (रदियल्लाहु अन्हु) को हदीसबाट थाहा पाए, उनलाई निकै पछुतो लाग्यो ।
त्यसपछि उनले ढुङ्गाले भरिएको मुठी भुइँमा ठोक्दै र पछुतो गर्दै भने : “मैले धेरै पुण्यका अवसरहरू गुमाएको छु ।” (बुखारी : १३२४), (मुस्लिम : ९४५)
इमाम नौवी (रहेमहुल्लाह) ले भनेका छन् : “सहाबीहरू नेकी (पुण्य) का कार्यहरूमा अग्रसर रहन्थे र अन्जानमा कुनै पुण्य गर्न पाइएन भने धेरै पछुतो मान्ने गर्दथे भन्ने कुरा उक्त हदीसले प्रमाणित हुन्छ ।” (अल्-मिन्हाज : ७/१५ मा हेर्नुहोस्)