सुन्नतको परिभाषा : सुन्नत भनेको ती कुराहरू हुन्, जसलाई गर्न इस्लामले प्रेरणा दिएको छ, तर अनिवार्य गरेको छैन ।
सुन्नतको फाइदा : गर्दा पुण्य मिल्छ, नगर्दा पाप लाग्दैन ।
हाम्रा सलफ (अग्रज) हरू सुन्नतका लागि मरिहत्ते गर्थे :
१) नोमानले अम्रबाट, अम्रले अंबसहबाट, अंबसले उम्मे हबीबह (रदियल्लाहु अन्हा) बाट बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले दिन-रातमा १२ रकात सुन्नत (अतिरिक्त सलाह) पढ्छ, अल्लाह तआलाले उसको लागि जन्नत (स्वर्ग) मा घर बनाउनु हुनेछ ।” (मुस्लिम : १७२७)
उम्मे हबीबह (रदियल्लाहु अन्हा) ले बयान गरेकी छिन् : “जुन दिनदेखि मैले यो हदीस रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेकी छैन ।”
अंबसहले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस उम्मे हबीबह (रदियल्लाहु अन्हा) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
अम्र बिन औसले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस अंबसहबाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
नोमान बिन सालिमले बयान गरेका छन् : “जुन दिनदेखि मैले यो हदीस अम्र बिन औसबाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन ।”
२) अली (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, चक्की पिस्दा-पिस्दै फातिमा (रसूल सल्लल्लाहु अलैहि वसल्लमकी कान्छी छोरी) को हातमा ठेला उठेको थियो । उता रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कहाँ युद्धका केही कैदीहरू ल्याइएका थिए । एउटा कामदार मलाई पनि चाहियो भनेर फातिमा (रदियल्लाहु अन्हा) आफ्नो बुवाकहाँ पुगिन्, तर उहाँ नभएकोले सबै कुरा आइशा (रदियल्लाहु अन्हा) सित गरेर फर्किन् । उहाँ आउनु भएपछि आइशा (रदियल्लाहु अन्हा) ले सबै कुरा भनिन् । त्यसपछि उहाँ हाम्रो घर आउनुभयो । हामी ओछ्यानमा गइसकेका थियौं । हामी उहाँको लागि उभिन खोज्यौं, तर उहाँले तिमीहरू उठ्नु पर्दैन, बस भन्दै हामी दुवैजनाको बीचमा बस्नुभयो । मैले उहाँको गोडाको चिसोपन पनि महसुस गरें । उहाँले भन्नुभयो : “के म तिमीहरूलाई त्यो कुरा नभनुँ, जुन तिमीहरूले मागेको भन्दा उत्तम छ ? ल सुन, सुत्ने बेला ३४ पटक ‘अल्लाहु-अक्बर’, ३३ पटक ‘सुब्हानल्लाह’ र ३३ पटक ‘अल्हम्दु-लिल्लाह’ भन, यो तिमीहरूको लागि कामदार भन्दा पनि उत्तम छ ।” (बुखारी : ३७०५), (मुस्लिम : २७२७)
अर्को हदीसमा छ, अली (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “जुन दिनदेखि मैले यो कुरा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट सुनेँ, त्यो दिनदेखि मैले यसलाई कहिल्यै पनि छोडेको छैन । उनीसँग सोधियो- सिफ्फीनको रातमा पनि ? उनले जवाफ दिए : हो सिफ्फीनको रातमा पनि छोडिनँ ।” (बुखारी : ५३६२), (मुस्लिम : २७२७)
‘सिफ्फीनको रात’ मा चर्को युद्ध भएको थियो र उनी (अली) स्वयम् त्यस युद्धको सेनापति थिए भन्ने कुरा सबैलाई अवगत नै छ, तैपनि उनले यो सुन्नत छोडेनन् ।
३) अब्दुल्लाह बिन उमर (रदियल्लाहु अन्हुमा) जनाजाको सलाह पढेपछि घर फर्किन्थे र यसैलाई असल सुन्नत ठान्दथे । किनभने उनलाई कब्रिस्तानमा दफन गरून्जेल जनाजालाई साथ दिनुपर्छ भन्ने कुरा थाहा थिएन । तर जब उनले जनाजालाई दफन गरून्जेल बस्दा कति पुण्य पाइन्छ भन्ने कुरा अबू-होरैरह (रदियल्लाहु अन्हु) को हदीसबाट थाहा पाए, उनलाई निकै पछुतो लाग्यो ।
त्यसपछि उनले ढुङ्गाले भरिएको मुठी भुइँमा ठोक्दै र पछुतो गर्दै भने : “मैले धेरै पुण्यका अवसरहरू गुमाएको छु ।” (बुखारी : १३२४), (मुस्लिम : ९४५)
इमाम नौवी (रहेमहुल्लाह) ले भनेका छन् : “सहाबीहरू नेकी (पुण्य) का कार्यहरूमा अग्रसर रहन्थे र अन्जानमा कुनै पुण्य गर्न पाइएन भने धेरै पछुतो मान्ने गर्दथे भन्ने कुरा उक्त हदीसले प्रमाणित हुन्छ ।” (अल्-मिन्हाज : ७/१५ मा हेर्नुहोस्)
सुन्नतका केही फाइदाहरू :
प्रिय भाई, सुन्नत पालना गर्दा धेरै फाइदाहरू छन्, तीमध्ये केही यस प्रकार छन् :
१) अल्लाहको प्रिय बन्नु, किनभने सुन्नत र नफिल (अतिरिक्त) द्वारा उहाँको प्रिय बन्न सकिन्छ ।
इब्ने कैय्यिम (रहेमहुल्लाह) ले भनेका छन् : “अल्लाह तआलाले तिमीसित त्यति बेला मात्र माया गर्नुहुनेछ, जब तिमी उहाँको प्रिय भक्त रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को पूर्णरूपमा अनुसरण गर्नेछौ, उहाँको कुरालाई सत्य ठान्नेछौ, उहाँको आदेशको पालना गर्नेछौ, उहाँको आदेशलाई अरूको आदेशमाथि प्राथमिकता दिनेछौ, सबैभन्दा बढी उहाँलाई माया गर्नेछौ, यदि यी कुराहरू गर्न सक्दैनौ भने आफुलाई अप्ठ्यारोमा नहाल अनि पछाडि फर्क र अल्लाहको प्रकाश (नूर) को खोज गर, किनभने तिमी शून्य छौ, अर्थात तिमीसँग केही पनि छैन ।” (मदारेजुस्सालेकीन : ३/३७ मा हेर्नुहोस्)
२) अल्लाहको साथ पाउनु, अर्थात अल्लाह तआलाले भक्तलाई राम्रो काम गर्ने साहस र शक्ति प्रदान गर्नुहुन्छ । उसको हात तथा सम्पूर्ण इन्द्रेणीहरूबाट त्यही काम हुन्छ, जसलाई अल्लाह तआलाले मन पराउनुहुन्छ । किनभने अल्लाहको प्रिय भक्त भइसकेपछि उहाँको साथ र काम गर्ने शक्ति स्वतः पाइन्छ ।
३) दुआ कबुल हुनु, सुन्नत (अतिरिक्त) ले अल्लाहको प्रिय भक्त हुने अवसर पाइन्छ र उहाँले प्रिय भक्तको पुकारलाई अवश्य स्वीकार गर्नुहुन्छ ।
यी तीनै कुराहरूको प्रमाण :
अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, अल्लाह तआलाले (हदीस कुद्सीमा) भन्नुभएको छ : “कसैले मेरो कुनै वली (मित्र) सँग शत्रुता गर्न खोज्छ भने म उसलाई युद्धको चेतावनी दिन चाहन्छु । मेरो भक्तले मैले अनिवार्य (फर्ज) गरेको कुराहरूबाट मेरो निकटता प्राप्त गर्ने कोसिस मलाई एकदमै मनपर्छ । मेरो भक्त नफिल (अतिरिक्त) द्वारा मेरो निकटता प्राप्त गर्न खोज्छ, यहाँसम्म कि ऊ मेरो प्रिय बन्न पुग्छ । जब ऊ मेरो प्रिय भक्त बन्छ तब म उसको कान बनि दिन्छु, जहाँबाट ऊ सुन्छ, म उसको आँखा बनि दिन्छु, जहाँबाट ऊ हेर्छ, म उसको हात बनि दिन्छु, जसले ऊ समात्छ, म उसको खुट्टा बनि दिन्छु, जसले ऊ हिंड्छ । यदि उसले केही माग्यो भने म उसलाई अवश्य प्रदान गर्नेछु, यदि ऊ मेरो शरण चाहन्छ भने म उसलाई अवश्य शरण प्रदान गर्नेछु । मलाई कुनैपनि काम गर्दा दुविधा हुँदैन, जुन एउटा मोमिनको ज्यान लिनुमा हुन्छ । ऊ मृत्युलाई मन पराउँदैन र म उसलाई दु:खी बनाउन चाहन्नँ ।” (बुखारी : ६५०२)
४) फर्ज (अनिवार्य) मा भएको कमीलाई पुरा गर्नु, किनभने सुन्नत (अतिरिक्त) ले फर्जमा भएको त्रुटिलाई पुरा गर्छ ।
यसको प्रमाण :
अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : “कयामत (महाप्रलय) को दिन भक्तसँग सर्वप्रथम सलाहको बारेमा प्रश्न हुनेछ । यदि यसमा सफल भयो भने बाँकीमा सफलता प्राप्त हुनेछ र यसमा नै असफल भयो भने बाँकीमा पनि असफल भइनेछ । यदि फर्ज (अनिवार्य) मा केही कमी भयो भने अल्लाह तआलाले भन्नुहुनेछ, हेर त, मेरो भक्तको केही सुन्नत (अतिरिक्त) छ कि ? फेरी त्यो कमीलाई सुन्नत (अतिरिक्त) ले पुरा गरिनेछ । त्यसपछि बाँकी कुराहरूको क्रमशः हिसाब-किताब हुनेछ ।” (अहमद : ९४९४), (अबू-दाऊद : ८६४), (तिर्मिजी : ४१३) र अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-जामेअ १/४०५ मा हेर्नुहोस्)