अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक मुस्लिमका अर्को मुस्लिममाथि ६ वटा हक अधिकारहरू छन्, एउटा सहाबीले सोधे- ती के हुन् ? उहाँले जवाफमा भन्नुभयो : “जब तिमी कोही मुस्लिमसित भेटघाट गर्छौ भने उसलाई सलाम गर्नु, जब कसैले तिमीलाई दावत (खाने निम्तो) दिन्छ भने स्वीकार गर्नु, जब कसैले तिमीसित सर-सल्लाह माग्छ भने उसलाई राम्रो सल्लाह दिनु, जब कसैले हाछ्यु गरेपछि ‘अल्हम्दु-लिल्लाह’ भन्छ भने उसको जवाफमा ‘यर्हमु-कल्लाह’ भन्नु, जब कोही बिरामी हुन्छ भने उसलाई भेट्न जानु र जब कसैको निधन हुन्छ भने उसको जनाजा (अन्तिम संस्कार) मा जानु ।” (मुस्लिम : २०४२)
सलामको जवाफ फर्काउनु वाजिब (अनिवार्य) हो । यसको प्रमाण :
अल्लाह तआलाले भन्नुभएको छ : “जब कसैले तिमीहरूलाई सलाम गर्छ भने तिमीहरूले त्यो भन्दा राम्रो तरिकाले वा (कम्तीमा) समान शैलीमा जवाफ देऊ । निस्सन्देह अल्लाह तआलाले हरेक कर्मको हिसाब-किताब लिनुहुनेछ ।” (सूरह अन्-निसा : ८६)
उक्त श्लोकमा अल्लाह तआलाले आदेश दिनुभएको छ र उहाँको आदेशको पालना गर्नु वाजिब हो । धेरैजसो विद्वान र धर्मगुरूहरूले सलामको जवाफ फर्काउनु वाजिब हो भन्ने कुरामाथि सर्वसम्मति जनाएका छन्, जस्तै इब्ने हज्म, इब्ने अब्दुल्-बर, तकीउद्दीन इत्यादि । (अल्-आदाब अश्-शरईयह १/३५६ मा हेर्नुहोस्)
सलाम गर्ने सबैभन्दा उत्कृष्ट तरिका : ‘अस्सलामु अलैकुम व रह्मतुल्लाहे व बरकातुह’ हो । त्यसैगरी र जवाफ दिने उत्कृष्ट तरिका : ‘व अलैकुमुस्सलाम व रह्मतुल्लाहे व बरकातुह’ हो ।
इब्ने कैय्यिम (रहेमहुल्लाह) ले भनेका छन् : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सलाम गर्दा प्रायः (.... व बरकातुह) सम्म भन्नुहुन्थ्यो ।” (जादुल्-मआद २/४१७ मा हेर्नुहोस्)
सलाम आम गर्नु र सर्वत्र फैलाउनु सुन्नत हो । अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहको कसम जसको हातमा मेरो ज्यान अडेको छ, जबसम्म तिमीहरू एक-अर्कालाई माया गर्दैनौ, तबसम्म तिमीहरू मोमिन (आस्थावान) बन्न सक्दैनौ र जबसम्म तिमीहरू मोमिन (आस्थावान) बन्दैनौ, तबसम्म तिमीहरू जन्नतमा प्रवेश गर्न सक्दैनौ । के तिमीहरूलाई यस्तो कुरा नभनौं, जसले गर्दा तिमीहरू एक-अर्कालाई माया गर्न थाल्ने छौ ? त्यो के हो भने एक-अर्कालाई अत्याधिक सलाम गर्ने गर ।” (मुस्लिम : ५४)
जस्तै तपाईंले कसैलाई सलाम गर्नुभयो तर उसले सुनेन कि भन्ने शंका लाग्यो भने २ वा ३ पटक सलाम गर्नु मुस्तहब (राम्रो) हो ।
त्यसैगरी कुनै ठूलो सभा वा उत्सवमा सबैले सुन्ने गरी ३ पटक सलाम गर्नु मुस्तहब हो ।
यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) आफ्नो कुरा राख्दा ३ पटक भन्नुहुन्थ्यो र कुनै समुदायलाई सलाम गर्दा ३ पटक सलाम गर्नुहुन्थ्यो ।” (बुखारी : ९५)
उक्त हदीसबाट प्रमाणित हुन्छ, आवश्यकता अनुसार ३/३ पटक केही कुरा भन्नु वा सलाम गर्नु मुस्तहब (राम्रो) हो, ताकि सबैले बुझ्न र सुन्न सकुन् ।
यसको प्रमाण : अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, एकजना व्यक्तिले ‘इस्लामको कुन तरिका राम्रो हो भनेर प्रश्न तेर्स्याए’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जवाफमा भन्नुभयो : “खाना खुवाउनु र परिचित र अपरिचित सबैलाई सलाम गर्नु ।” (बुखारी : १२), (मुस्लिम : ३९)
अबू-हुरैरह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सवारीमा बसेकाले पैदल हिंड्नेलाई, बाटोमा हिंडिरहेकोले बसेकोलाई र थोरै जमातले ठूलो जमातलाई सलाम गरून् ।” (बुखारी : ६२३३), (मुस्लिम : २१६०)
बुखारीको अर्को हदीसमा छ : “सानाले ठूलालाई, हिंड्नेले बसेकालाई र थोरैले धेरैलाई सलाम गरून् ।” (बुखारी : ६२३४)
तर यसको उल्टो पनि जस्तैः ठूलाले सानालाई र हिंड्नेले सवारी गर्नेलाई सलाम गर्नु जायज छ, तर हदीसमा उल्लेखित तरिका अनुसार गर्नु नै उत्तम हो ।
यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा हिंडिरहेको थिएँ, त्यत्तिकैमा हामी केही बालबालिकाहरूको छेउमा आइपुग्यौं । उहाँले बालबालिकाहरूलाई सलाम गर्नुभयो ।” (बुखारी : ६२४७), (मुस्लिम : २१६८)
बच्चालाई सलाम गर्दा ठूला बडाको घमण्ड खत्तम हुन्छ । अर्कोतिर बालबालिकाहरूका लागि एक प्रकारको प्रशिक्षण हुन्छ र उनीहरूमा सलाम गर्ने बानीको विकास हुन्छ ।
घरभित्र प्रवेश गर्दा पहिला मिस्वाक (दतिवन) अनि त्यसपछि सलाम गर्नु सुन्नत हो । स्मरण रहोस्, जुन अवस्थाहरूमा मिस्वाक (दतिवन) गर्नु सुन्नत हो, तीमध्येको चौथो अवस्था घरभित्र प्रवेश गर्दा हो ।
यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) घरभित्र प्रवेश गर्दा पहिला मिस्वाक गर्नुहुन्थ्यो ।” (मुस्लिम : २५३)
त्यसपछि उहाँ सलाम गर्नुहुन्थ्यो, त्यसैले धेरै धर्मविद्हरूले घरभित्र कोही नभए पनि प्रवेश गर्दा सलाम गर्नुपर्छ भनेका छन् । अल्लाह तआलाले भन्नुभएको छ : “तिमीहरू घरभित्र प्रवेश गर्दा आफु र आफ्नो घरपरिवारलाई सलाम गर्ने गर, यो अल्लाहको तर्फबाट अवतरित पवित्र बन्दना हो । यसरी नै अल्लाह आफ्ना आदेशहरूलाई स्पष्ट रूपमा वर्णन गर्नुहुन्छ ताकि तिमीहरू बुझ्न सक ।” (सूरह अन्नूर : ६१)
इब्ने हजर (रहेमहुल्लाह) ले भनेका छन् : “कोही नभएको ठाउँमा पनि आफुलाई सलाम गर्नु सुन्नत हो भन्ने कुरा छर्लङ्ग हुन्छ । किनभने अल्लाह तआलाले भन्नुभएको छ : “तिमीहरू घरभित्र प्रवेश गर्दा आफुलाई सलाम गर्ने गर.... ।” (फत्हुल्-बारी, हदीस न० : ६२३५ मा हेर्नुहोस्)
घरभित्र प्रवेश गर्दा यी ३ काम गर्नु सुन्नत हो :
पहिलो : बिस्मिल्लाह भन्नु, विशेषगरी रातको समयमा ।
यसको प्रमाण : जाबिर (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, “जब मानिस घर भित्र छिर्ने र खानेबेला बिस्मिल्लाह पढ्छ, शैतानले भन्छ - ‘आज नत सुत्ने ठाउँ पाइयो नत खान नै’ । तर कसैले घर भित्र प्रवेश गर्दा बिस्मिल्लाह भनेन भने शैतानले भन्छ - ‘ल सुत्ने ठाउँ पाइयो, र खानेबेला बिस्मिल्लाह भनेन भने शैतानले भन्छ -‘आज हामीले सुत्ने ठाउँ र खाना दुबै पायौ है’ ।” (मुस्लिम : २०१८)
दोस्रो : मिस्वाक गर्नु, यसको प्रमाण आइशा (रदियल्लाहु अन्हा) को हदीसमा माथि प्रस्तुत भइसकेको छ ।
तेस्रो : सलाम गर्नु ।
यसको प्रमाण : मिक्दाद बिन अस्वद (रदियल्लाहु अन्हु) को लामो हदीसमा छ, “......हामी दुध दुने गर्थ्यौं र प्रत्येकले आफ्नो भागको दुध पिउथ्यो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातमा ढिलो आउनु हुन्थ्यो । त्यसैले हामी उहाँको भाग छुटाएर राखि दिन्थ्यौं । उहाँ प्रवेश गर्दा सुतेकाहरूलाई नजगाउने गरी विस्तारै सलाम गर्नु हुन्थ्यो, तर हामी (नसुतेकाहरू) उहाँको सलाम सुन्ने गर्थ्यौं ।” (मुस्लिम : २०५५)
‘फलानो व्यक्तिलाई मेरो सलाम पुर्याई दिनु है’ भनेर कसैले तपाईंलाई भन्छ भने तपाईंले उसको सलाम सम्बन्धित व्यक्तिसम्म पुर्याई दिनु सुन्नत हो ।
यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “हेर, जिब्रील (अलैहिस्सलाम) ले तिमीलाई सलाम गर्नुभएको छ है । सलाम सुनेर उनले जवाफमा भनिन्- ‘व अलैहिस्सलाम व रह्मतुल्लाह’ ।” (बुखारी : ३२१७), (मुस्लिम : २४४७)
सम्बन्धित व्यक्तिसम्म सलाम पुर्याई दिनु सुन्नत हो भन्ने कुरा उक्त हदीसले छर्लङ्ग हुन्छ, किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले जिब्रील (अलैहिस्सलाम) को सलाम आइशा (रदियल्लाहु अन्हा) सम्म पुर्याउनुभएको थियो । त्यसैगरी ‘फलानो व्यक्तिलाई मेरो सलाम पुर्याई दिनु’ भनेर कसैलाई भन्नु पनि सुन्नत हो ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही कुनै मजलिस (बैठक) मा प्रवेश गर्छ वा त्यहाँबाट निस्किन्छ भने सलाम गर । दुवै अवस्थाहरूमा सलाम गर्नु उत्तिकै महत्वपूर्ण छ । (अहमद : ९६६४), (अबू-दाऊद : ५२०८), (तिर्मिजी :२७०६) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-जामेअ १/१३२ मा हेर्नुहोस्)
यसको प्रमाण : कतादह (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, उनले भने : “मैले अनस (रदियल्लाहु अन्हु) लाई प्रश्न गरें- के रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू पनि मोसाफहा गर्ने गर्थे ? उनले जवाफमा भने : हो, गर्ने गर्थे ।” (बुखारी : ६२६३) अर्थात रसूल (सल्लल्लाहु अलैहि वसल्लम) का साथीहरू पनि सलाम गर्दा मोसाफहा गर्ने गर्दथे ।
यसको प्रमाण : अबू-जर (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभयो : “हेर, पुण्यलाई कहिल्यै पनि सानो न ठान्नु । मुस्कुराउँदै उज्यालो अनुहारले आफ्नो दाजुभाईसँग भेट्नु पनि सद्का (पुण्य) हो ।” (मुस्लिम : २६२६)
अबू-जर (रदियल्लाहु अन्हु) अर्को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “आफ्नो दाजुभाईको लागि मुस्कुराउनु पनि सद्का (पुण्य) हो ।” (तिर्मिजी :१९५६) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (अस्-सहीहा : ५७२ मा हेर्नुहोस्)
सामान्य अवस्था, कार्यक्रम वा जुनसुकै ठाउँमा साथीभाईहरूसँग भेट हुँदा राम्रो कुरा गर्नु सद्का (पुण्य) हो ।
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “राम्रो कुरा गर्नु सद्का (पुण्य) हो । (बुखारी : २९८९), (मुस्लिम : १००९)
आज मानिसहरू धेरै राम्रा-राम्रा कुराहरू गर्छन्, सवाबको नीयत गरियो भने उसले त्यसमा पनि अत्याधिक मात्रामा पुण्य पाउनेछन् ।
हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “आरामै हुनुहुन्छ ? सन्चै हुनुहुन्छ ? अनि घरभित्र सबै आरामै ? इत्यादि सोध्नु पनि सद्का (पुण्य) हो ।
किनभने यी कुराहरूले कसैको मन हलुका हुन्छ, उसलाई एक प्रकारको अनौठो खुशी महसुस हुन्छ र आफ्नोपनको आभास हुन्छ । अर्थात हरेक प्रकारको राम्रो कुरा गर्नु सद्का (पुण्य) हो ।” (शर्हो रियाजुस्सालेहीन २/९९६ मा हेर्नुहोस्)
इस्लामी सभा (कुर्आन र हदीस बयान गरिने ठाउँ) र अल्लाहको जिक्र (गुणगान र प्रशंसा) गर्नेबारे धेरै हदीसहरू छन् । तीमध्ये एउटा अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीस हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहका केही फरिश्ताहरू जिक्र (प्रशंसा) गर्ने भक्तजनहरूको खोजिमा यताउता भौंतारिरहेका हुन्छन् । यदि कुनै फरिश्ताले त्यस्तो सभा वा जिक्र गर्ने जमातलाई पाउँछ भने उसले सबै फरिश्तालाई बोलाउने गर्दछन् । त्यसपछि अल्लाहको जिक्र (गुणगान र प्रशंसा) गर्नेहरूलाई आफ्ना पखेटाहरूले छोप्दछन् र उनीहरूको क्षमायाचनाको लागि दुआ गर्दछन् ।” (बुखारी : ६४०८), (मुस्लिम : २६८९)
यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “यदि कोही कुनै बैठकमा अनावश्यक कुरा बढी गर्छन् र त्यहाँबाट उठ्नु भन्दा पहिला ‘सुब्हान कल्लाहुम्म व बिहम्दिक अश्-हदु अल्ला इला ह इल्ला अन्त, अस्तग्-फिरू क व अतूबु एलै क’ पढ्छन् भने त्यो वैठकमा भएका सम्पूर्ण गल्तीहरूलाई अल्लाह तआलाले माफ गरिदिनुहुन्छ ।” (तिर्मिजी :३४३३) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-जामेअ २/१०६५ मा हेर्नुहोस्)