जोहरको फर्ज सलाह भन्दा पहिला ४ रकात (२-२ गरी) र फर्ज सलाहपछि २ रकात सुन्नत पढ्नुपर्छ भन्ने कुरा आइशा, उम्मे हबीबह र इब्ने उमर (रदियल्लाहु अन्हुम) को हदीसहरूमा माथि प्रस्तुत भइसकेको छ ।
जोहरको पहिलो रकातलाई लामो गरी पढ्नु सुन्नत हो ।
यसको प्रमाण : अबू-सईद अल्-खुदरी (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “जोहरको सलाह आरम्भ हुन्थ्यो र कोही दिसापिसाब गर्न बकी (कब्रिस्तान) तिर लाग्थ्यो, फेरी वजू गरी मस्जिदमा आउथ्यो । त्यति बेलासम्म रसूल (सल्लल्लाहु अलैहि वसल्लम) पहिलो रकातमा नै हुन्थ्यो ।” (मुस्लिम : ४५४)
तसर्थ, इमामले पहिलो रकातलाई लामो गर्नु सुन्नत हो । त्यसैगरी मुन्फरिद (एक्लै पढ्ने) ले र घरमा सलाह पढ्ने महिलाले पनि पहिलो रकातलाई लामो गर्नु सुन्नत हो । आजभोलि यो सुन्नत मुर्दा भएको छ, हामीले यसलाई अमल गरेर जीवित पार्नुपर्छ ।
अत्याधिक गर्मीमा जोहरको सलाह ढिलोगरी पढ्नु सुन्नत हो ।
यसको प्रमाण :
अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “गर्मी अत्याधिक बढेपछि ढिलोगरी जोहरको सलाह पढ्नु, किनभने नर्कको बाफले गर्मी बढ्छ ।” (बुखारी : ५३३,५३४), (मुस्लिम : ६१५)
हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “यदि जोहरको सलाह १२ बजे र अस्रको सलाह साढे ४ बजे छ भने अत्याधिक गर्मीमा ४ बजेसम्म ढिलोगरी पढ्न सकिन्छ ।” (अल्-मुमतेअ २/१०४ मा हेर्नुहोस्)
स्मरण रहोस् : अत्याधिक गर्मीमा जोहरको सलाह ढिलोगरी जमातमा पढ्ने वा एक्लै पढ्ने सबैको लागि सुन्नत हो । त्यसैगरी महिलाले पनि घरमा ढिलोगरी पढ्नु सुन्नत हो । यही भनाईलाई हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले मन पराएका छन् ।