languageIcon
search
search
brightness_1 सबैभन्दा उत्कृष्ट जिक्र, कुर्आनको तिलावत हो ।

सबैभन्दा उत्कृष्ट जिक्र, कुर्आनको तिलावत हो । हाम्रा अग्रजहरू रातमा कुर्आनको तिलावत र तहज्जुद पढ्ने गर्दथे । अल्लाह तआलाले भन्नुभएको छ : “उनीहरू रातमा थोरै सुत्ने गर्थे र अन्तिम पहरमा क्षमयाचना गर्ने गर्थे ।” (सूरह अज्जरियात : १८)

त्यसैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित दुआ र अज्कारका साथमा कुर्आनको तिलावत गर्नु एकदमै जरूरी छ । तर विडम्बना के छ भने रातमा तिलावत गर्ने कुरा त परै जाओस्, बरू हामी उल्टै अल्लाहको अवज्ञा र पाप गर्ने गर्दछौं ।

हम्माद बिन जैदको हदीसमा छ, अब्दुर्रह्मानले भनेका छन्, “हामीले ती सहाबीहरूबाट कुर्आन सिक्ने सौभाग्य प्राप्त गरेका छौं, जसले १० आयतहरू सिक्ने गर्थे र जबसम्म सिकेको ती १० आयतहरूमाथि अमल गर्दैनथे, तबसम्म अगाडि बढ्दैनथे । यसरी उनीहरूले कुर्आन कण्ठ गर्नका साथै अमल पनि गरे ।” (सियर आलामुन्नुबोला : ४/२६९ मा हेर्नुहोस्)

brightness_1 अल्लाह तआलाले धेरै ठाउँहरूमा जिक्र गर्न प्रेरित गर्नुभएको छ :

१) अल्लाह तआलाले जिक्र गर्ने प्रेरित गर्दै भन्नुभएको छ : “ए आस्थावानहरू हो, अल्लाह तआलालाई अत्याधिक याद गर र बिहान-बेलुका उहाँकै प्रशंसा गर र महिमा गाऊ ।” (सूरह अल्-अह्जाब : ४१-४२)

२) अल्लाह तआलाले जिक्र गर्नेलाई क्षमायाचना र ठूलो पुण्यको वाचा गर्दै भन्नुभएको छ : “अल्लाह तआलालाई अत्याधिक याद गर्ने पुरूष र महिलाका लागि उहाँले निश्चयनै क्षमा र महान प्रतिदान तयार पारेर राख्नुभएको छ ।” (सूरह अल्-अह्जाब : ३५)

३) अल्लाह तआलाले हामीलाई मोनाफिक (कपटी) बाट सचेत गर्दै भन्नुभएको छ : “निश्चयनै मोनाफिक (कपटी) हरू अल्लाह तआलालाई धोका दिन्छन्, अल्लाह तआलाले तिनीहरूलाई तिनको सजाई दिनुहुनेछ । तिनीहरू सलाहको लागि उभिंदा अल्छी गर्छन् र मानिसहरू देखाउन मात्र उभिन्छन् र अल्लाह तआलालाई एकदमै थोरै याद गर्छन् ।” (सूरह अन्-निसा : १४२)

४) मात्र धनसम्पत्ति आर्जनमा लाग्ने र अल्लाहको जिक्र नगर्नेलाई सचेत गर्दै अल्लाह तआलाले भन्नुभएको छ : “ए आस्थावानहरू हो, तिमीहरूको धनसम्पत्ति र सन्तानको मोहले अल्लाहको जिक्रबाट विमुख नहोऊ । जो विमुख हुन्छ, उसले घाटा बेहोर्ने छ ।” (सूरह अल्-मुनाफेकुन : ९)

५) जिक्रको महत्व दर्शाउँदै अल्लाह तआलाले भन्नुभएको छ : “तिमीहरू मलाई याद गर म तिमीहरूलाई याद गर्नेछु ।” हदीस कुद्सी मा छ : “म मेरो भक्तले सोचे जस्तै हुँ । यदि उसले मलाई आफ्नो मनमा याद गर्छ, मपनि उसलाई आफ्नो मनमा याद गर्छु । यदि उसले मलाई कुनै जमातमा याद गर्छ, म उसलाई उसको भन्दा राम्रो जमातमा याद गर्छु ।” (बुखारी : ७४०५), (मुस्लिम : २६७५)

brightness_1 हदीसबाट प्रमाणित केही जिक्रहरू : (१)

हदीसबाट प्रमाणित केही जिक्रहरू : 

१) अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले ‘लाइला ह इल्लल्लाहु वहदहू लाशरीक लहु लहुल्मुल्कु व लहुल् हम्दु वहुव अला कुल्लि शैइन कदीर’ दिनमा १०० चोटि पढ्छ, उसले १० गुलाम आजद गर्ने पुण्य पाउँछ, उसको लागि १०० पुण्य लेखिनेछ, उसको १०० गल्ती (पाप) हरू माफ गरिनेछ र त्यो दिन साँझसम्म (फरिश्ताद्वारा) उसको हिफाजत गरिनेछ ..... ।

त्यसैगरी जसले ‘सुब्हानल्लाहि व बिहम्देही’ दिनमा १०० चोटि पढ्छ, उसका सम्पूर्ण पापहरू पखालिनेछ, चाहे त्यो समुद्रको फिज बराबर नै किन नहोस् ।” (बुखारी : ३२९३), (मुस्लिम : २६९१)

२) अबू अैयूब (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले ‘लाइला ह इल्लल्लाहु वहदहू लाशरीक लहु लहुल्मुल्कु व लहुल् हम्दु वहुव अला कुल्लि शैइन कदीर’ दिनमा १० चोटि पढ्छ, उसले इस्माईल (अलैहिमस्सलाम) को सन्तानबाट ४ गुलाम आजद गर्ने पुण्य पाउँछ ।” (बुखारी : ६४०४), (मुस्लिम : २६९३)

 

brightness_1 हदीसबाट प्रमाणित केही जिक्रहरू : (२)

हदीसबाट प्रमाणित केही जिक्रहरू : 

३) साअ्द बिन अबी वक्कास (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो : “के तिमीहरू हरेक दिन १०० नेकी कमाउन सक्दैनौ ? एकजनाले प्रश्न तेर्सायो- ए हजुर, एक दिनमा १०० नेकी कसरी कमाउने ? उहाँले जवाफमा भन्नुभयो : १०० चोटि ‘सुब्हानल्लाह’ भन्छौ भने अल्लाह तआलाले १०० नेकी दिनुहुन्छ वा १०० गल्तीहरू माफ गरिदिनुहुन्छ ।” (मुस्लिम : २६९८)

४) अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले ‘सुब्हानल्लाहि व बिहम्देही’ दिनमा १०० चोटि पढ्छ, उसका सम्पूर्ण पापहरू पखालिनेछ, चाहे त्यो समुद्रको फिज बराबर नै किन नहोस् ।” (बुखारी : ६४०५)

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले ‘सुब्हानल्लाहि व बिहम्देही’ बिहान-बेलुका १००/१०० चोटि पढ्छ, कयामतको दिन ऊ भन्दा बढी नेकी अरू कसैको हुनेछैन । तर यदि कसैले ऊ जस्तै वा उसको भन्दा बढी पढेको छ भने उनीहरूको पुण्य उसको भन्दा बढी हुनसक्छन् ।” (मुस्लिम : २६९२)

हुनत जिक्र (अल्लाहको प्रशंसा गर्ने र महिमा गाउने) बारेमा धेरै हदीसहरू छन्, तीमध्ये केही सही हदीसहरू माथि प्रस्तुत गरिसकेका छौं । अबू-मूसा (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले मलाई भन्नुभएको छ : “के तिमीलाई जन्नतका खजानामध्ये एउटा खजानाको बारेमा नभनुँ ? मैले भने- हजुर भन्नुहोस् न, उहाँले भन्नुभयो- ‘लाहौ ल वला कुव्व त इल्ला बिल्लाह’ पढ ।” (बुखारी : ४२०२), (मुस्लिम : २७०४)

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सुब्हानल्लाह, वल्-हम्दो लिल्लाह, वला इला ह इल्-लल्लाह, वल्लाहु अक्बर’ भन्नु मेरो लागि सूर्योदय हुनु भन्दा राम्रो हो ।” (मुस्लिम : २६९५)

 

brightness_1 हदीसबाट प्रमाणित केही जिक्रहरू : (३)

हदीसबाट प्रमाणित केही जिक्रहरू : 

त्यसैगरी ‘अस्तगफेरूल्लाह’ भन्नु पनि जिक्र हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “म दिन-रातमा १०० चोटि ‘अस्तगफेरूल्लाह’ भन्ने गर्छु ।” (मुस्लिम : २७०२)

यो त उहाँको आफ्नो व्यक्तिगत अमल हो, तर उहाँले हामीहरूलाई पनि तौबा र क्षमयाचना गर्ने आदेश दिनुभएको छ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “हे मानिसहरू हो, “म दिन-रातमा १०० चोटि ‘तौबा’ गर्दछु, तसर्थ तिमीहरू पनि तौबा गर ।” (मुस्लिम : २७०२)

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाहको कसम, म दिन-रातमा १०० चोटि ‘अस्तगफेरूल्लाह’ भन्छु र तौबा गर्दछु ।” (बुखारी : ६३०७)

हामी, जिक्रलाई एउटा महत्वपूर्ण हदीस बयान गरेर समाप्त गर्न चाहन्छौं । अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “दुइटा यस्ता कुराहरू छन्, जुन जिब्रोमा एकदमै हलुका तर तराजुमा एकदमै भारी र अल्लाह तआलालाई एकदमै मन पर्छ; ‘सुब्हानल्लाही व बिहम्देही, सुब्हानल्लाहिल्-अजीम’ ।” (बुखारी : ६४०६), (मुस्लिम : २६९४)