दिसापिसाबको लागि शौचालयमा प्रवेश गर्दा निम्न लिखित दुआ पढ्नु सुन्नत हो :
अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयमा प्रवेश गर्दा ‘अल्लाहुम्म इन्नी अऊजुबिक मिनल्-खुबुसु वल्-खबाएसे, पढ्नु हुन्थ्यो ।” (बुखारी : ६३२२), (मुस्लिम : ३७५)
खुबुस भनेको पुरूष शैतान हो र खबाएसे भनेको महिला शैतान हो । यसरी यी दुवैको उपद्रवबाट अल्लाहको शरण माग्नुपर्छ ।
खब्स भनेको बदमास मानिसहरू हुन्, यसरी सबै खराब मानिसहरूबाट पनि अल्लाहको शरण माग्नुपर्छ ।
शौचालयबाट निस्कने बेला निम्न दुआ पढ्नु सुन्नत हो :
आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) शौचालयबाट निस्कने बेला ‘गुफ्रानक’ पढ्नु हुन्थ्यो ।” (अहमद : २५२२०), (अबू-दाऊद : ३०), (तिर्मिजी : ७) र शैख अल्बानी (रहेमहुल्लाह) ले (तहकीक् मिश्कातुल्-मसाबीह : १/११६) मा ‘सही’ भनेका छन् ।
हरेक मुस्लिमले चाहे उ स्वास्थ्य होस् वा बिरामी वा मृत्युको सैयामा होस्, वसीयत लेखेर राख्नु सुन्नत हो । किनभने मृत्यु अकाट्य छ, नत रोकेर रोकिन्छ नत छेकेर छेकिन्छ । त्यसैले समयमा नै हरेक मुस्लिमले वसीयत तयार पारेर राख्नु जरूरी छ ।
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कुनै मुस्लिमले केही खास कुराहरूको वसीयत गर्नुछ भने उसले सक्दो चाँडो आफ्नो वसीयत लेखेर राखुन् ।” (बुखारी : २७८३), (मुस्लिम : १६२६)
तर जकात, हज्ज, कफ्फारह, ऋण, सापटी, नासो इत्यादिको वसीयत हो भने त्यो सुन्नत मात्र होइन वाजिब हो । विशेषगरी जुन कुराको बारेमा अरू कसैलाई थाहा हुदैन, त्यसको वसीयत तयार पार्नु एकदमै जरूरी छ ।
इस्लामको एउटा कायदा र नियम छ : जुन कुराको कमीले वाजिब अपूर्ण हुन्छ, त्यो कुरा पनि वाजिब नै हो ।
आर्थिक कारोबार, लेनदेन र किनबेच गर्दा क्रेता र बिक्रेता दुबै समूहले नम्रता अपनाउनु, एक-अर्कालाई सम्मान गर्नु र सानोतिनो कुरामा झगडा नगरी एक-आपसमा सम्झौता गर्नु अत्यन्त जरूरी छ ।
यसको प्रमाण :
जाबिर बिन अब्दुल्लाह (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले किनबेच र आर्थिक मामिलामा सहनशीलता अपनाउँछ, अल्लाह तआलाले त्यो व्यक्तिमाथि कृपा गर्नुहुन्छ ।” (बुखारी : २०७६)
त्यसैले आर्थिक मामिलामा जस्तैः सापटी, उधारो इत्यादि माग्दा पनि हामीले सहनशीलता अपनाउनु जरूरी छ ।
दिन-रातमा वजू गर्दै पिच्छे २ रकात सलाह पढ्नु, एउटा मुस्लिमले हरेक दिन सजिलैसँग गर्न सक्ने महत्वपूर्ण सत्कर्म हो र यसको प्रतिफल जन्नतमा प्रवेश गर्न पाउनेछ । अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले बिलाल (रदियल्लाहु अन्हु) लाई फज्रको बेला सोध्नुभयो : “ए बेलाल, इस्लाममा तिमीले गरेको सबैभन्दा उत्कृष्ट सत्कर्म के होला, किनभने मैले जन्नतमा आफ्नो अगाडि तिम्रो जुत्ताको आवाज सुनेको छुँ । बेलालले जवाफमा भने - मैले दिन-रातमा जहिले पनि वजू गरेपछि अल्लाह तआलाले प्रदान गर्नुभएको शक्ति अनुसार (कम्तीमा २ रकात) सलाह पढ्ने प्रयास गर्छु ।” (बुखारी : ११४९), (मुस्लिम : २४५८)
सलाहको लागि प्रतिक्षारत रहनुका धेरै फाइदाहरू छन् ।
अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जबसम्म तिमीहरू सलाहको प्रतिक्षामा हुन्छौ, तबसम्म तिमी सलाहमा नै रहन्छौ । किनभने सलाहले नै उसलाई घर जानबाट रोकिराखेको हुन्छ ।” (बुखारी : ६५९), (मुस्लिम : ६४९)
अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कसैले सलाहको प्रतिक्षामा बस्दा जबसम्म उसले कसैलाई दु:ख दिदैन र उसको वजू टुट्दैन, तबसम्म फरिश्ताले उसको लागि दुआ गरिरहन्छ; हे अल्लाह, ऊमाथि दया गर, हे अल्लाह, उसलाई क्षमा गरीदेऊ । जबसम्म तिमीहरू सलाहको प्रतिक्षामा हुन्छौ तबसम्म तिमी सलाहमा नै रहन्छौ । किनभने सलाहले नै उसलाई घर जानबाट रोकिरहेको हुन्छ ।” (बुखारी : ६५९), (मुस्लिम : ६४९) ।”
तर शर्त के छ भने कसैलाई दु:ख दिनु हुन्न र वजू पनि टुट्नु हुँदैन । यस्तो अवस्थामा उसले मस्जिदमा बसुन्जेल सलाहको पुण्य प्राप्त गर्नेछ ।
दिन-रातमा जहिले पनि गर्न मिल्ने सुन्नतहरूमध्ये एउटा मिस्वाक (दतिवन) गर्नु हो । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मिस्वाक (दतिवन) गर्न धेरै प्रेरित गर्नुहुन्थ्यो । यहाँसम्म कि उहाँले भन्नुभयो : “मैले तिमीहरूलाई मिस्वाक (दतिवन) गर्ने कुरामा जोड दिएको छु ।” (बुखारी : ८८८)
रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “मिस्वाक (दतिवन) ले मुख सफा हुन्छ र अल्लाह पनि प्रसन्न हुनुहुन्छ ।” (अहमद : ७), (निसाई : ५) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (अल्-इर्वा १/१०५ मा हेर्नुहोस्)
कुन कुन अवस्थाहरूमा मिस्वाक गर्नु सुन्नत हो भन्ने सन्दर्भमा माथि हदीस प्रस्तुत भइसकेको छ । जस्तैः तहज्जुदको लागि उठ्दा, वजू गर्दा, सलाह पढ्दा र घरभित्र प्रवेश गर्दा । (वल्लाहो आलम)
मुस्लिमले प्रत्येक सलाहको लागि वजू गर्नु सुन्नत हो । जस्तै : मैले वजू गरेर मग्रिबको सलाह पढे, फेरी ईशाको अजान भयो, तर मेरो वजू भङ्ग भएको छैन तैपनि नयाँ वजू गर्नु सुन्नत हो ।
बुखारीमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रत्येक सलाहको लागि वजू गर्नुहुन्थ्यो ।” (बुखारी : २१४)
त्यसैगरी दिनभरि वजूको अवस्थामा रहनु अझ राम्रो कुरा हो । सौबान (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “आस्थावान (मोमिन) ले नै वजूको हिफाजत गर्छ ।” (अहमद : २२४३४), (इब्ने माजह : २७७), (दारमी : ६५५) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । सहीहुल्-जामेअ १/२५५ मा हेर्नुहोस्)