साँझपख, अँध्यारो हुने बेला शैतानहरू सर्वत्र फैलिएका हुन्छन्, त्यसैले उपर्युक्त दुवै सुन्नतहरूमाथि अमल गरिने हो भने सन्तान र घर दुवैलाई शैतानको उपद्रवबाट सुरक्षित राख्न सकिन्छ । सुन्नतको अवहेलनाले गर्दा आज हाम्रा कतिपय घर र सन्तानहरूमाथि शैतानले कब्जा जमाएको छ । इस्लाम कति महान छ, इस्लामले हाम्रो नानीबाबु र घरपरिवारलाई सुरक्षित राख्न केही कमी छोडेको छैन ।
यसको प्रमाण :
जाबिर बिन अब्दुल्लाह (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “साँझपख (अँध्यारो हुने बेला) आफ्नो नानीबाबुलाई बाहिर जान नदेऊ, किनभने त्यति बेला शैतानहरू सर्वत्र फैलिएका हुन्छन् । रातका केही समय बितिसकेपछि छाडिदेऊ । त्यसैगरी साँझ पर्ने बित्तिकै बिस्मिल्लाह भनेर ढोका बन्द गर, किनभने शैतानले बन्द ढोकालाई खोल्न सक्दैन ।” (बुखारी : ३३०४), (मुस्लिम : २०१२)
स्मरण रहोस्, साँझ पर्ने बेला नानीबाबुलाई बाहिर जान नदिनु र ढोकालाई बन्द गर्नु मुस्तहब (राम्रो कुरा) हो । (फतावा लज्नह दाएमह २६/३१७ मा हेर्नुहोस्)
यसको प्रमाण : अब्दुल्लाह बिन मोगफ्फल (रदियल्लाहु अन्हुमा) को हदीसमा छ : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरू मग्रिब भन्दा पहिला नमाज पढ्नु र फेरी भन्नुभयो : जसले पढ्न चाहन्छ उसले पढुन्, ताकि मानिसहरू यसलाई सुन्नत ठानी नियमित रूपमा नपढुन् ।” (बुखारी : ११८३)
प्रत्येक अजान र एकामतको बीचमा २ रकात सलाह पढ्नु सुन्नत हो ।
कोही मस्जिदमा बसिरहेको छ र अस्र वा ईशाको अजान भयो भने उसले उठेर २ रकात सलाह पढ्नु सुन्नत हो । तर, फज्र र जोहरको सलाह हो भने सलाह भन्दा पहिला पढिने सुन्नत मोअक्कदा नै पर्याप्त हुन्छ । अर्थात सुन्नत मोअक्कदा पढिसकेपछि पुनः २ रकात पढ्नु पर्दैन ।
अब्दुल्लाह बिन मोगफ्फल (रदियल्लाहु अन्हुमा) को हदीसमा छ : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “प्रत्येक अजान र एकामतको बीचमा सलाह पढ्नु र फेरी उहाँले भन्नुभयो : जसले पढ्न चाहन्छ उसले पढुन् ।” (बुखारी : ६२४), (मुस्लिम : ८३८)
स्मरण रहोस्, मग्रिब भन्दा पहिला वा प्रत्येक अजान र एकामतको बीचमा २ रकात सलाह पढ्नु सुन्नत मोअक्कदा होइन, त्यसैले कहिलेकाहीं यसलाई छोड्न सकिन्छ । किनभने रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसले पढ्न चाहन्छ उसले पढुन्, ताकि मानिसहरू यसलाई सुन्नत ठानी नियमित रूपमा नपढुन् ।” (बुखारी : ११८३)
अबू-बर्जह अल्-अस्लमी (रदियल्लाहु अन्हु) को हदीसमा छ : रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ईशा सलाह ढिलोगरी पढ्न रूचाउनु हुन्थ्यो तर ईशा भन्दा पहिला सुत्नु र ईशा सलाहपछि कुराकानी गरेर अबेरसम्म कुराकानी गर्दै बस्नु मकरूह (अप्रिय) ठान्नु हुन्थ्यो ।” (बुखारी : ५९९), (मुस्लिम : ६४७)
कारण : ईशा सलाह छुट्ने डरले ईशा भन्दा पहिला सुत्न मनाही गरिएको हो ।