languageIcon
search
search
beforeFajronColorIcon सोनन् मौकूतह/ फज्र भन्दा पहिलेको समय ( यसका रकातहरू 2 अध्यायहरू )
brightness_1 अफजल (उत्कृष्ट) समयमा तहज्जुद पढ्नु सुन्नत हो ।

प्रश्न : रातको कुन समयमा तहज्जुद पढ्नु अफजल हो ?

जवाफ : ईशाको सलाह पढिसकेपछि फज्रको अजान नहुन्जेलसम्म, जुनसुकै समयमा तहज्जुद र वित्रको सलाह पढ्न सकिन्छ भन्ने कुरा सबैलाई थाहा नै छ ।

यसको प्रमाण :

आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ईशाको सलाह पढिसकेपछि फज्रको अजान हुनु भन्दा केही समय अघिसम्ममा ११ रकात तहज्जुद पढ्नुहुन्थ्यो । २ रकातपछि सलाम फेर्नुहुन्थ्यो र अन्तमा १ रकात वित्र पढ्नुहुन्थ्यो ।” (बुखारी : २०३१), (मुस्लिम : ७३६)

तहज्जुद पढ्ने उत्कृष्ट समय : मध्यरातपछिको अन्तिम एक तिहाई प्रहर हो ।

अर्थात : पहिला रातलाई ६ भागमा बराबर-बराबर बाँड्नुहोस् । प्रथम ३ भाग (मध्यरात) सम्म सुत्नुहोस् अनि चौथो र पाँचौं भागमा सलाह पढ्नुहोस् र छैटौं भागमा आराम गर्नुहोस् ।

यसको प्रमाण : अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह तआलालाई दाऊद (अलैहिस्सलाम) को रोजा (ब्रत) र सलाह (नमाज) अति मन पर्थ्यो । उनी मध्यरातसम्म सुत्ने गर्थे, फेरी एक तिहाई रातसम्म सलाह पढ्ने गर्थे, अनि रातको छैटो भागमा आराम गर्थे । त्यसैगरी उनी एक दिन बिराएर ब्रत बस्ने गर्थे ।” (बुखारी : ३४२०), (मुस्लिम : ११५९)

- यदि कोही माथि उल्लेखित हदीसमा अमल गर्न चाहन्छ भने रातको हिसाब कसरी गर्ने ?

रातलाई ६ भागमा बराबर-बराबर बाँड्नुहोस् । प्रथम ३ भाग (मध्यरात) सम्म सुत्नुहोस्, अनि चौथो र पाँचौं भागमा सलाह पढ्नुहोस् र छैटौं भागमा आराम गर्नुहोस् ।

त्यसैले आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, “मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) लाई सहरीको समयमा सधैं आराम गर्दै गरेको (सुतिरहेको) पाएँ ।” (बुखारी : ११३३), (मुस्लिम : ७४२) 

यसरी हिसाब गरेर उत्कृष्ट समयमा तहज्जुद पढ्न सकिन्छ । जसको प्रमाण अब्दुल्लाह बिन अम्रको हदीसमा माथि प्रस्तुत भइसकेको छ ।

समग्रमा, कुन समयमा तहज्जुद पढ्नु उत्कृष्ट हो भन्ने कुरालाई ३ दर्जामा बाँडिएको छ :

पहिलो दर्जा : प्रथम ३ भाग, मध्यरात हो, यो समयमा सुत्नुहोस् । बाँकी रातको चौथो र पाँचौं भागमा सलाह पढ्नुहोस् र छैटौं भागमा आराम गर्नुहोस् ।

यसको प्रमाण : अब्दुल्लाह बिन अम्र (रदियल्लाहु अन्हुमा) को हदीसमा माथि बयान भइसकेको छ ।

दोस्रो दर्जा : रातको अन्तिम एक तिहाई प्रहरमा सलाह पढ्नुहोस् ।

यसको प्रमाण :

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जब रातको अन्तिम प्रहर हुन्छ, तब अल्लाह तआला पहिलो आकाशमा आउनुहुन्छ अनि भन्नुहुन्छ : “कोही छ, जसले मलाई पुकारोस् र म उसको पुकारलाई स्वीकार्नेछु । कोही छ, जसले मसित मागोस् र म उसको मागलाई पुरा गर्नेछु । कोही छ, जसले मसित माफी मागोस् र म उसलाई माफ गर्नेछु । उहाँ हरेक रातको अन्तिम प्रहरमा पहिलो आकाशमा आउनुहुन्छ ।” (बुखारी : ११४५), (मुस्लिम : ७५८)

तर, यदि कोही रातको अन्तिम प्रहरमा उठ्न सक्दैन भने उसले रातको जुनसुकै समयमा तहज्जुद र वित्र पढ्न सक्छ ।

तेस्रो दर्जा : रातको पहिलो प्रहरमा सलाह पढ्नु ।

यसको प्रमाण :

जाबिर (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “जसलाई रातको अन्तिम प्रहरमा उठ्न नसक्ने डर छ, उसले रातको पहिलो प्रहरमा वित्रको सलाह पढुन् र जो रातको अन्तिम प्रहरमा पढ्न रूचाउँछ, उसले अन्तिम रातको प्रहरमा वित्रको सलाह पढुन् । किनभने रातको अन्तिम प्रहरमा फरिश्ताहरू हाजिर हुन्छन् र यो उत्कृष्ट समय हो ।” (मुस्लिम : ७५५)

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अबू-जर, अबू-दर्दा र अबू-हुरैरह (रदियल्लाहु अन्हुम) लाई गर्नुभएको वसीयत; “सुत्नु भन्दा पहिला वित्रको सलाह पढ्नु” माथि उल्लेखित तेस्रो दर्जा अन्तर्गत पर्दछ ।

अबू-जर (रदियल्लाहु अन्हु) को हदीसलाई (निसाई फिस्-सुननुल्-कुब्रा : ९९२८) : २७१२ मा बयान गरेका छन् र शैख अल्बानी (रहेमहुल्लाह) ले सहीहा : २१६६ मा ‘सही’ भनेका छन् ।

अबू-दर्दा (रदियल्लाहु अन्हु) को हदीसलाई अहमदले : २७४८१ र अबू-दाऊदले : १४३३ मा बयान गरेका छन् र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ अबू-दाऊद : ५/१७७ मा ‘सही’ भनेका छन् ।

र अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसलाई मुस्लिमले : ७३७ मा बयान गरेका छन् ।

brightness_1 ११ रकात तहज्जुद पढ्नु सुन्नत हो ।

यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रमदान वा अन्य महिनामा ११ रकात भन्दा बढी पढ्नु हुन्नथे ।” (बुखारी : ११४७), (मुस्लिम : ७३८)

तर मुस्लिमको अर्को हदीसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले १३ रकात पढ्नुभएको कुरा आइशा (रदियल्लाहु अन्हा) बाट नै प्रमाणित छ ।

यी हदीसहरूबाट स्पष्ट हुन्छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) प्रायः ११ रकात नै पढ्नुहुन्थ्यो, तर कहिलेकाहीं १३ रकात पनि पढ्नुहुन्थ्यो । यस्तो अवस्थाहरूमा दुवै हदीसहरूमाथि अमल गर्नु राम्रो हो । त्यसैले कहिले ११ र कहिले १३ रकात पढ्नु सुन्नत हो ।

brightness_1 तहज्जुदमा प्रमाणित सना (इस्तिफ्ताह) पढ्नु सुन्नत हो ।

क) आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तहज्जुदमा निम्न लिखित दुआ पढ्नु हुन्थ्यो : “अल्लाहुम्म, रब्ब जिब्राईल, व मीकाईल, व इस्राफील, फातिरस्समावाते वल्-अर्दे, आलिमल्-गैबे वश्-शहादते, अन्त तह्-कोमो बैन ईबादेक फीमा कानू फीही यख्-तलेफून्, एह्-देनी लिमख्-तलेफ फीही मिनल्-हक्के बेइज्निक, इन्नक तह्दी मन्-तशाओ इला सिरातिम-मुस्तकीम ।” (मुस्लिम : ७७०)

ख) इब्ने अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तहज्जुदमा निम्न लिखित दुआ पढ्नु हुन्थ्यो : “अल्लाहुम्म, लकल्-हम्दु, अन्त नूरूस्समावाते वल्-अर्दे, व लकल्-हम्दु, अन्त रब्बुस्समावाते वल्-अर्दे व मन् फिहीन्न, अन्तल्-हक्कु, व वाअ्दु कल्-हक्कु, व कौलुकल्-हक्कु, व लिका-ओकल्-हक्कु, वल्-जन्न्तु हक्कुन्, वन्-नारू हक्कुन्, वन्नबीयून हक्कुन्, वस्साअतु हक्कुन्, अल्लाहुम्म, ल्-क असल्म्तु, व बि-क आमन्तु, व अलैक तवक्कल्तु, व एलैक अनब्तु, व बिक खासम्तु, व एलैक हाकम्तु, फग-फिर्ली मा कद्-दम्तु, वमा अख्-खर्तु वमा अस्-र्रतु, वमा आलन्तु, अन्त इलाही, ला इला ह इल्ला अन्त ।” (बुखारी : ७४९९), (मुस्लिम : ७६८)

brightness_1 तहज्जुदमा निम्न लिखित तरिकाले कुर्आनको तिलावत गर्नु सुन्नत हो ।

क) हतार (हदर) नगरिकन विस्तारै-विस्तारै पढ्नु ।

ख) प्रत्येक आयत (श्लोक) मा रोक्नु, अर्थात २/३ आयत एकै सांसमा नपढ्नु, बरू हरेक आयत (श्लोक) मा रोक्दै पढ्नु ।

ग) कुर्आनको तिलावत गर्दा अल्लाहको चमत्कार र अनगिन्ति वरदानहरूको ब्याख्या गरिएको आयत छ भने खुब प्रशंसा गर्नु, माग्ने निर्देशन छ भने उहाँसित केही माग्नु र अजाब (प्रकोप) को वर्णन छ भने उहाँको शरण माग्नु ।

यी उपर्युक्त कुराहरूको प्रमाण :

हुजैफा (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, “मैले एक रात रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को साथमा सलाह पढ्ने अवसर पाएँ, उहाँले सूरह बकरह पढ्न आरम्भ गर्नुभयो । मैले सोचे, १०० आयत पढिसकेपछि रूकु गर्नुहुन्छ होला, तर उहाँ निरन्तर रूपले पढ्दै जानुभयो । फेरी मैले सोचे शायद सिङ्गै सूरह एक रकातमा पढ्नुहुन्छ होला, तर उहाँ निरन्तर रूपले पढ्दै जानुभयो, सूरह बकरह पढिसकेपछि सूरह निसा र त्यसपछि सूरह आलि-इमरान पनि पढ्नुभयो । उहाँ हतार (हदर) नगरिकन विस्तारै-विस्तारै पढ्नुहुन्थ्यो, कुर्आनको तिलावत गर्दा अल्लाहको चमत्कार र अनगिन्ति वरदानहरूको ब्याख्या गरिएको आयत छ भने खुब प्रशंसा गर्नुहुन्थ्यो, माग्ने निर्देशन छ भने उहाँसित केही माग्नुहुन्थ्यो र अजाब (प्रकोप) को वर्णन छ भने उहाँको शरण माग्नुहुन्थ्यो । त्यसपछि उहाँले रूकुको लागि झुक्नुभयो र ‘सुब्हान रब्बियल्-अजीम’ पढ्न थाल्नुभयो, उहाँको रूकु पनि कयाम झैँ लामो थियो । फेरी उहाँले ‘समिअल्लाहु लिमन् हमिदह’ भनेर उभिनुभयो र लगभग रूकु झैँ लामो कयाम गर्नुभयो । फेरी उहाँले सज्दा गर्नुभयो र सज्दामा ‘सुब्हान रब्बियल्-आला’ पढ्नुभयो, उहाँको सज्दा पनि कयाम झैँ लामो थियो ।” (मुस्लिम : ७७२)

रसूल (सल्लल्लाहु अलैहि वसल्लम) कुर्आनको तिलावत कसरी गर्नुहुन्थ्यो भन्ने प्रश्नको जवाफमा उम्मे सल्मा (रदियल्लाहु अन्हा) ले भनेकी छिन् : “उहाँ प्रत्येक आयत (श्लोक) मा वक्फ (रोक्नु) गर्नुहुन्थ्यो । जस्तैः ‘बिस्मिल्ला हिर्रहमा निर्रहीम’ पढिसकेपछि वक्फ (रोक्नु) गर्नुहुन्थ्यो । त्यसैगरी ‘अल्हम्दु लिल्लाही रब्बिल् आलमीन’ पढिसकेपछि वक्फ (रोक्नु) गर्नुहुन्थ्यो । त्यसैगरी ‘अर्रह्मा निर्रहीम’ ‘मालिकि यौमिद्दीन’ प्रत्येक आयत (श्लोक) मा वक्फ (रोक्नु) गर्नुहुन्थ्यो ।” (अहमद : २६५८३), दार-कुतनीले (११८) मा भनेका छन् : यसको सनद (हदीस बयान गर्ने मानिसहरू) ‘सही’ र सबैजना ‘सिकात’ भरपर्दो छन् । इमाम नौवीले ‘सही’ भनेका छन् । (अल्-मज्मूअ :३/३३३ मा हेर्नुहोस्)

brightness_1 वित्र पढ्दा कहिले दुआ गर्नु र कहिले नगर्नु दुवै सुन्नत हो ।

अर्थात, वित्रको तेस्रो वा अन्तिम एकल रकात; जसमा ‘सूरतुल्-एख्लास’ पढ्नु हुन्छ, त्यसैमा दुआ गर्नुपर्छ ।

वित्रको सलाहमा दुआ गर्नुभएको र दुआ नगरिकन वित्र पढ्नुभएको दुवै कुराहरू रसूल (सल्लल्लाहु अलैहि वसल्लम) र उहाँका केही सहाबाहरूबाट प्रमणित छ । शैखुल्-इस्लाम इब्ने तैमीयह (रहेमहुल्लाह) ले यसै कुरालाई मन पराएका छन् । तर बढी दुआ नगरिकन वित्र पढ्नु नै उत्कृष्ट तरिका हो ।

के वित्रमा दुआ गर्दा हात उठाउनुपर्छ ?

वित्रमा दुआ गर्दा हात उठाउनु नै सही तरिका हो । जमहूर ओलमा (अधिकांश धर्मगुरूहरू) को यही भनाई छ । किनभने हात उठाउनु उमर (रदियल्लाहु अन्हु) बाट प्रमाणित छ । इमाम बैहकी (रहेमहुल्लाह) ले पनि यसलाई ‘सही’ भनेका छन् ।

इमाम बैहकी (रहेमहुल्लाह) ले भनेका छन् : “वित्रमा दुआ गर्दा हात उठाउने कुरा धेरै सहाबाहरूबाट प्रमाणित छ ।” (अस्-सुनन् अल्-कुब्रा : २/२११ मा हेर्नुहोस्)

वित्रको दुआ कुन कुराबाट आरम्भ गर्नुपर्छ ?

वित्रमा पनि पहिला अल्लाहको प्रशंसा गर्नु र त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूदो सलाम पठाउनु अनि दुआ गर्नु पर्दछ । यसो गर्दा दुआ कबुल हुने बढी सम्भावना हुन्छ । (वल्लाहो आलम)

यसको प्रमाण :

फोजालह बिन ओबैद (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एकजनाले दुआ गर्दै गर्दा सुन्नुभयो, जसले उहाँमाथि दरूदो सलाम पठाएनन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो- उसले धेरै हतार गर्यो, फेरी त्यो मानिसलाई बोलाउनुभयो अनि सबैलाई सम्बोधन गर्दै भन्नुभयो : “दुआ माग्दा पहिला अल्लाहको प्रशंसा गर, फेरी रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूदो सलाम पठाऊ अनि त्यसपछि दुआ गर ।” (तिर्मिजी : ३४७७)

इब्ने कैय्यिम (रहेमहुल्लाह) ले भनेका छन् : “वास्तवमा, दुआ गर्नु अघि अल्लाहको प्रशंसा गर्नु र रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूदो सलाम पठाउनु मुस्तहब हो । त्यसपछि आवश्यकता अनुसार आफ्नो लागि दुआ गर्नु ।” (अल्-वाबेलुस्सैयेब : ११०)

के वित्रको दुआपछि अनुहारमा हात घस्नुपर्छ र ?

वित्रको दुआपछि अनुहारमा हात घस्नु प्रमाणित छैन, किनभने यसको कुनै प्रमाण नै छैन ।

इमाम मलिक (रहेमहुल्लाह) सित दुआपछि अनुहारमा हात घस्नेबारे प्रश्न सोधियो । उनले इन्कार गर्दै भने : “मलाई थाहा छैन ।” (किताबुल्-वित्र, लिल्-मर्वजी पृष्ठ न० : २३६ मा हेर्नुहोस्)

शैखुल्-इस्लाम इब्ने तैमीयह (रहेमहुल्लाह) ले भनेका छन् : “दुआपछि अनुहारमा हात घस्नेबारे मात्र एक दुईवटा हदीसहरू छन्, ती पनि जईफ (अति कमजोर) छन् ।” (फतावा २२/५१९ मा हेर्नुहोस्)

brightness_1 तहज्जुद पढ्न आफ्नो घरपरिवारलाई उठाउनु सुन्नत हो ।

श्रीमानले आफ्नो श्रीमती र घरका अन्य सदस्यहरूलाई, त्यसैगरी श्रीमतीले आफ्नो श्रीमानलाई तहज्जुद पढ्न उठाउनु सुन्नत हो । किनभने राम्रो काम गर्दा एक- अर्कालाई सहयोग गर्नु र सुन्नत पढ्न उठाउनु राम्रो तरिका हो ।

यसको प्रमाण :      

आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) रातको समय सलाह पढ्नुहुन्थ्यो अनि म उहाँ र किब्लाको बीचमा सुतिरहेकी हुन्थें । वित्र पढ्नुभन्दा पहिला मलाई उठाउनु हुन्थ्यो र म पनि वित्र पढ्थें ।” (बुखारी : ५१२), (मुस्लिम : ५१२)

उम्मे-सल्मा (रदियल्लाहु अन्हा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एक रात उठेपछि भन्नुभयो : “सुब्हानल्लाह ! कति खजाना र कति संकट उतारिएको छ ! यी कोठामा सुत्ने (श्रीमती) हरूलाई सलाह पढ्न कसले उठाउने होला ? दुनियाँमा लुगा लगाउने कतिपय महिलाहरू आखिरतमा नाङ्गो हुनेछन् ।” (बुखारी : ६२१८)

brightness_1 तहज्जुदमा थकाई लागेपछि आराम गर्नु सुन्नत हो ।

- यदि कसैलाई थकान लाग्यो भने बसेर सलाह पढ्नु ।

अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मस्जिदमा प्रवेश गर्नुभयो । उहाँले दुवै खम्बामा रस्सी बाँधिएको देखेपछि यो के हो भनेर सोध्नुभयो । सहाबाले जवाफ दिए : यो जैनबको रस्सी हो, उनी सलाह पढ्दा पढ्दै थाकेपछि यही रस्सीको सहारा लिने गर्छिन् । उहाँले भन्नुभयो : “यसलाई फुकाल, जाँगर हुन्जेल सलाह पढ्नु र थकाई लागेपछि आराम गर्नु ।” (बुखारी : ११५०), (मुस्लिम : ७८४)

- यदि कसैलाई निन्द्रा लागेको छ भने सुत्नु र उठेपछि एकदम जाँगरिलो भएर बाँकी सलाह पढ्नु ।

यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कसैलाई सलाह पढ्दा निन्द्रा लागेको छ भने पहिला सुत्नु र उठेपछि बाँकी सलाह पढ्नु । किनभने उसले निन्द्रामा दुआ गर्ने ठाउँमा आफूलाई गाली पनि गर्नसक्छ ।” (बुखारी : २१२), (मुस्लिम : ७८६)

- त्यसैगरी कसैलाई कुर्आनको तिलावत गर्दा निन्द्रा लाग्यो भने सुत्नु र उठेपछि जाँगरिलो भएर पढ्नु सुन्नत हो ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “यदि कसैलाई निन्द्राले गर्दा कुर्आनको तिलावत गर्न र के पढ्दैछ त्यो थाहा पाउन गाह्रो भएको छ भने उसले सुत्नु जरूरी छ ।” (मुस्लिम : ७८७)

brightness_1 रातको अन्तिम तेस्रो प्रहरमा दुआ गर्नु ।

रातको अन्तिम प्रहरमा दुआ गर्नु सुन्नत हो, यदि उसले रातको अन्तिम प्रहरमा वित्रको दुआ गर्छ भने यो नै उसको लागि पर्याप्त हुनेछ । वित्रको दुआ माग्न सकेन भने अन्य दुआ गर्नु उत्कृष्ट हो । किनभने त्यति बेला दुआ स्वीकृत हुन्छ र अल्लाह तआला पनि पहिलो आकाशमा आउनुहुन्छ (त्यही तरिकाले जुन उहाँको महिमाको लागि उचित छ) ।

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अल्लाह तआला हरेक रातको अन्तिम प्रहरमा पहिलो आकाशमा आउनुहुन्छ अनि भन्नुहुन्छ : “कोही छ, जसले मलाई पुकारोस् र म उसको पुकारलाई स्वीकार्नेछु । कोही छ, जसले मसित केही मागोस् र म उसको मागलाई पुरा गर्नेछु । कोही छ, जसले मसित माफी मागोस् र म उसलाई माफ गर्नेछु । उहाँ यसरी हरेक रातको अन्तिम प्रहरमा पहिलो आकाशमा आउनुहुन्छ ।” (बुखारी : ११४५), (मुस्लिम : ७५८)

brightness_1 वित्रमा सलाम फेरिसकेपछि ‘सुब्हानल्-मलेकुल्-कुद्दूस’ ३ पटक भन्नु र तेस्रोपटक ठूलो स्वर र अलि लम्बाएर भन्नु सुन्नत हो ।

यसको प्रमाण :

ओबै इब्ने काअ्ब (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वित्रको पहिलो रकातमा ‘सूरतुल्-आला’, दोस्रोमा ‘सूरतुल्-गाशियह’ र तेस्रोमा ‘सूरतुल्-एख्लास’ पढ्नु हुन्थ्यो र सलाम फेरिसकेपछि ‘सुब्हानल्-मलेकुल्-कुद्दूस’ ३ पटक भन्नु हुन्थ्यो ।” (निसाई : १७०२) इमाम नौवी र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ गरेको कुरा अघि प्रस्तुत भइसकेको छ ।

अब्दुर-रह्मान इब्ने अब्जा को हदीसमा यसरी वर्णन गरिएको छ : “उहाँ ‘सुब्हानल्-मलेकुल्-कुद्दूस’ ३ पटक भन्नु हुन्थ्यो र तेस्रोपल्ट अलि ठूलो स्वरले लम्बाएर भन्नु हुन्थ्यो ।” (अहमद : १५३५४), निसाई : १७३४) र अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (तहकीक मिश्-कातुल्-मसाबीह १/३९८ मा हेर्नुहोस्)