languageIcon
search
search
brightness_1 वजूको अवस्थामा दुआ गर्नु ।

यसको प्रमाण : अबू-मूसा (रदियल्लाहु अन्हु) ले अबू आमिर (रदियल्लाहु अन्हु) सँग भएको कुरालाई बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उनलाई औतास नामि युद्धमा सेनापति बनाएर पठाउनुभएको थियो र उनी शहिद भए । तर शहादत भन्दा पहिले अबू आमिरले अबू-मूसा (रदियल्लाहु अन्हु) लाई केही वसीयत गरे, ‘नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई मेरो सलाम पुर्याउनु र मेरो लागि दुआ गर्नु भन्नु है’ । अबू-मूसा (रदियल्लाहु अन्हु) ले नबी (सल्लल्लाहु अलैहि वसल्लम) लाई सलाम पुर्याएर दुआ गर्न अनुरोध गरे । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पानी मगाएर वजू गरी दुवै हात फैलाएर यसरी दुआ गर्नुभयो : “हे अल्लाह, आमिरलाई क्षमा गरिदेऊ, हे अल्लाह, कयामतको दिन उसलाई अरू भन्दा उच्च दर्जा प्रदान गरिदेऊ । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दा हात यति माथि उठाउनु भएको थियो कि उहाँको काखीको सेतोपन देखिन्थ्यो ।” (बुखारी : ४३२३), (मुस्लिम : २४९८)

brightness_1 किब्लातर्फ अनुहार फर्काउनु ।

अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, उमर बिन खत्ताब (रदियल्लाहु अन्हुमा) ले मसित बद्र नामी युद्धमा घटेको कुरा यसरी बयान गरे । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले काफिरतर्फ नजर घुमाउनुभयो, उनीहरू १,००० भन्दा बढी थिए, तर मुस्लिमहरू ३१९ मात्र थिए । त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले किब्लातर्फ अनुहार फर्काउनु भयो र आफ्नो दुवै हात फैलाएर अल्लाहसित दुआ माग्न थाल्नुभयो : “हे अल्लाह, मसित गर्नुभएको वाचालाई पुरा गर्नुहोस्, हे अल्लाह, मलाई दिन्छु भनेको कुरा प्रदान गर्नुहोस् । हे अल्लाह, यो औंलामा गनिने जमात आज हताहत भयो भने यो पृथ्वीमा तिम्रो इबादत गर्ने कोही हुनेछैन । उहाँ किब्लातर्फ मुख गरेर निकै बेरसम्म दुआ गरिरहनु भयो, यहाँसम्म कि उहाँको काँधमा रहेको कपडा भुइँमा झर्यो । त्यसपछि अबू-बकर सिद्दीक अगाडि बढ्नुभयो र उहाँको काँधको कपडा मिलाउदै उहाँलाई अंगालो मार्दै भने- ‘ए हजुर, यति काफी छ, अल्लाह तआलाले आफ्नो वाचा निश्चय नै पुरा गर्नुहुनेछ र सत्यको जीत हुनेछ ।” (मुस्लिम : १७६३)

brightness_1 दुआ गर्दा पहिला अल्लाहको प्रशंसा गर्नु र त्यसपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) माथि दरूद पठाउनु ।

यसको प्रमाण : फजालह बिन ओबैद (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) बसिरहनुभएको थियो । एकजना व्यक्तिले सलाहपछि लगत्तै दुआ गर्न शुरू गर्यो ‘हे अल्लाह, मलाई क्षमा गर र ममाथि दया गर,’ रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले उसलाई सम्बोधन गर्दै भन्नुभयो : “तिमीले दुआमा धेरै हतार गर्यौ है, सुन, पहिला अल्लाह तआलाको प्रशंसा गर, त्यसपछि म माथि दरूद पढ अनि आफ्नो लागि दुआ माग ।” (तिर्मिजी :३४७६) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-जामेअ १/१७२ मा हेर्नुहोस्)

brightness_1 बारम्बार बिन्ति गर्दै दुआ माग्नु ।

यसको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीस हो, जसमा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अल्लाहसित : “हे अल्लाह, मसित गर्नुभएको वाचालाई पुरा गर्नुहोस्, ... भनेर दुआ गर्नुभएको कुरा छ ... ।” (मुस्लिम : १७६३)

त्यसैगरी अर्को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले ‘दौस’ नामी गोत्रको हिदायतको लागि यसरी दुआ गर्नुभएको थियो : “हे अल्लाह, ‘दौस’ गोत्रलाई हिदायत (सिधा बाटोमा डोर्याइ) देऊ र उनीहरूलाई यहाँसम्म ल्याई देऊ २ पटक दुआ गर्नुभयो ।” (बुखारी : २९३७), (मुस्लिम : २५२४)

त्यसैगरी अर्को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुआ गर्दै गरेको एकजना मानिसको कथालाई बयान गर्नुभएको छ : “त्यो मान्छे लामो यात्राको कारण धुलैधूलोले लटरम्म भएको थियो र आकाशतिर हात फैलाउदै, हे अल्लाह, हे अल्लाह, भनेर बारम्बार बिन्ति गर्दै दुआ माग्दै थियो ।” (मुस्लिम : १०१५)

३/३ पटक दुआ गर्नु सुन्नत हो । अब्दुल्लाह बिन मसऊद (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) अल्लाहसित केही माग्दा ३/३ पटक माग्नुहुन्थ्यो । फेरी उहाँले कुरैशमाथि श्राप्दै ३ पटक भन्नुभयो : “हे अल्लाह, कुरैशलाई बर्बाद गरिदेऊ ।” (बुखारी : २४०), (मुस्लिम : १७९४)

brightness_1 दुआ गर्दा के मागौं ?

हामीले लोक र परलोक (दुनियाँ र आखिरत) सँग सम्बन्धित भलाई, सुख, शान्ति, कुशल, मङ्गल र सम्पूर्ण राम्रा कुराहरू माग्नु पर्छ । कुर्आन र हदीसमा यस्ता कैयौं दुआहरू छन्, जसमा हरेक कुराहरू समावेश गरिएको छन् । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई यति सुन्दर र महत्वपूर्ण दुआहरू सिकाउनुभएको छ जुन हाम्रो लागि पर्याप्त छन् ।

अबू मालिक अल्-अश्-जई (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, उनले आफ्नो बुवाको हदीसलाई बयान गरेका छन्, उनको बुवाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, एकजनाले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) सित दुआ गर्दा के मागु भनेर प्रश्न तेर्स्याए । यसको जवाफमा उहाँले भन्नुभयो : “अल्ला हुम्मग फिर्ली, वर्हम्नी, व आफेनी वर्जुक्नी’ भन, किनभने यसमा दुनियाँ र आखिरतका सम्पूर्ण भलाईका कुराहरू समावेश गरिएको छ ।” (मुस्लिम : २६९७)

अर्को हदीसमा छ, इस्लाम ग्रहण गरिसकेपछि रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मानिसलाई सलाहको तालिमपछि ‘अल्ला हुम्मग फिर्ली, वर्हम्नी, वह्देनी व आफेनी वर्जुक्नी’ सिकाउनु हुन्थ्यो ।” (मुस्लिम : २६९७)