languageIcon
search
search
brightness_1 जुत्ता लगाउदा दाहिनेतिरबाट शुरू गर्नु सुन्नत हो ।

इस्लामले हामीलाई जुत्ता लगाउने तरिकासम्मको तालिम दिएको छ । जुत्ता लगाउदा पहिला दायाँ खुट्टाबाट शुरू गर्नु र फुकाल्दा पहिला बायाँ खुट्टाबाट फुकाल्नु सुन्नत हो ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही जुत्ता लगाउँदा पहिला दायाँ खुट्टाबाट शुरू गर र फुकाल्दा पहिला बायाँ खुट्टाबाट फुकाल ।” (बुखारी : ५८५६)

अर्को हदीसमा छ : “एउटा खुट्टामा मात्र जुत्ता-चप्पल लगाएर हिंड्नु हुँदैन । लगाउने हो भने दुवैमा लगाऊ, नत्र दुवै फुकालेर हिंड ।” (मुस्लिम : २०९७)

उपर्युक्त दुवै हदीसहरूबाट निम्न लिखित कुराहरू प्रमाणित हुन्छन् :

१) जुत्ता लगाउदा पहिला दायाँ खुट्टाबाट शुरू गर्नु ।

२) फुकाल्दा पहिला बायाँ खुट्टाबाट फुकाल्नु ।

३) दुवै खुट्टामा जुत्ता लगाउनु, होइन भने दुवै फुकालेर हिंड्नु । एउटा खुट्टामा मात्र जुत्ता-चप्पल लगाएर हिंड्नु हुँदैन ।

brightness_1 सेतो लुगा र पोशाक लगाउनु ।

अर्थात सेतो पोशाक र लुगाफाटा प्रयोग गर्नु सुन्नत हो ।

यसको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “सेतो लुगा लगाऊ र मुर्दालाई पनि त्यस्तै कफन देऊ, किनभने यो उत्कृष्ट लुगा हो ।” (अहमद : २२१९), (अबू-दाऊद : ३८७८), (तिर्मिजी :९९४) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् । (सहीहुल्-जामेअ १/२६७ मा हेर्नुहोस्)

हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “यो हदीसले प्रमाणित हुन्छ कि दौरासुरूवाल, सर्ट पाइन्ट लगायत अन्य सम्पूर्ण पोशाकहरू सेतो रङ्गको लगाउनु सुन्नत हो । तर, कोही अर्को रङ्गको लुगा लगाउँछ भने केही फरक पर्दैन । तर त्यो लुगा महिलाको लुगा जस्तो नहोस् ।” (शर्हो रियाजुस्सालेहीन २/१०८७ मा हेर्नुहोस्)

brightness_1 अत्तर दल्नु सुन्नत हो ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “भौतिक चिजबिजमध्ये महिला र अत्तर मलाई एकदमै मनपर्छ र मेरो आँखाको सुख र शान्ति सलाहमा निहित छ ।” (अहमद : १२२९३), (निसाई : ३९४०) र शैख अल्बानी (रहेमहुल्लाह) ले हसन ‘सही’ भनेका छन् । (सही निसाई हेर्नुहोस्)

तर “भौतिक चिजबिजमध्ये ३ चीज मलाई अति मनपर्छ” भन्ने हदीस जइफ (अप्रमाणित) हो ।

उहाँको शरीरबाट दुर्गन्ध आएको उहाँलाई कदापि मन पर्दैनथ्यो । आइशा (रदियल्लाहु अन्हा) को लामो हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को शरीरबाट दुर्गन्ध आउदा उहाँलाई एकदमै गार्हो महसुस हुन्थ्यो ।” (बुखारी : ६९७२)

 अत्तर लगाउन वा लिन अस्वीकार गर्नु मकरूह (अप्रिय) हो ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अत्तर लगाउन वा लिन कहिल्यै पनि अस्वीकार गर्नु हुन्नथे ।” (बुखारी : २५८२)