languageIcon
search
search
brightness_1 बिस्मिल्लाह भनेर खानु ।

अम्र बिन अबी-सल्मा (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, “म सानै छँदा रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को घरमा थिएँ । खाना खानेबेलामा मेरो हात यताउता घुमिरहेको थियो । उहाँले मलाई भन्नुभयो : “ए बाबु, खानु भन्दा पहिला बिस्मिल्लाह भन र दायाँ हातले आफ्नो नजिकबाट खाऊ है ।” त्यो दिनपछि मैले सधै उहाँकै निर्देशन अनुसार खानपिन गरें । (बुखारी : ५३७६, मुस्लिम : २०२२)

बिस्मिल्लाह भन्न बिर्सियो भने सम्झना हुने बित्तिकै 'बिस्मिल्लाहि, अव्वलहु व आखिरहु' भन्नुपर्छ ।

यसको प्रमाण : आइशा (रदियल्लाहु अन्हा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “खानु भन्दा पहिला बिस्मिल्लाह भन्नु । यदि कसैले बिस्मिल्लाह भन्न बिर्सियो भने याद आउने बित्तिकै 'बिस्मिल्लाहि, अव्वलहु व आखिरहु' भन ।” (अबू-दाऊद : ३७६७), (तिर्मिजी : १८५८) र शैख अल्बानी (रहेमहुल्लाह) ले ‘सही’ भनेका छन् ।

माथि उल्लेखित अम्र बिन अबी-सल्मा (रदियल्लाहु अन्हुमा) को हदीसले प्रमाणित हुन्छ, दायाँ हातले खानपिन गर्नु सुन्नत हो । जसरी बिस्मिल्लाह नभनिकन खानपिन गर्दा शैतानले उसको साथमा खानपिन गर्छ, त्यसरी नै कोही बायाँ हातले खानपिन गर्छ भने शैतानले पनि उसको साथमा खानपिन गर्छ, किनभने शैतानले बायाँ हातले खानपिन गर्छ ।

यसको प्रमाण :

अब्दुल्लाह बिन उमर (रदियल्लाहु अन्हुमा) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “तिमीहरूमध्ये कोही पनि बायाँ हातले कदापि खानपिन नगर, किनभने शैतानले बायाँ हातले खानपिन गर्छ ।” नाफे (रहेमहुल्लाह) अझ यसमा थप्दै भन्ने गर्दथे- “बायाँ हातले नत कसैलाई केही दिनु नत कसैबाट केही लिनु” (मुस्लिम : २०२०)

शैतान हाम्रो घर भित्र छिर्न, खानपिन गर्दा त्यसमा शामिल हुन र हाम्रो ओछ्यानमा सुत्न एकदमै लागिपरेको हुन्छ । जाबिर बिन अब्दुल्लाह (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, “जब मानिस घर भित्र छिर्ने र खानेबेला बिस्मिल्लाह पढ्छ, शैतानले भन्छ - ‘आज नत सुत्ने ठाउँ पाइयो नत खान नै’ । तर कसैले घर भित्र प्रवेश गर्दा बिस्मिल्लाह भनेन भने शैतानले भन्छ - ‘ल सुत्ने ठाउँ पाइयो, र खानेबेला बिस्मिल्लाह भनेन भने शैतानले भन्छ -‘आज हामीले सुत्ने ठाउँ र खाना दुबै पायौ है’ । (मुस्लिम : २०१८)

brightness_1 हातबाट खसेको गाँसलाई सफा गरेर खानु ।

यसको प्रमाण : जाबिर (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें “तिमीहरूले जुनसुकै काम गर्दा शैतान त्यहाँ उपस्थित हुन्छ, यहाँसम्म कि खानपिन गर्नेबेला पनि । यदि हातबाट गाँस भुइँमा झर्यो भने त्यसलाई सफा गरेर खाऊ र शैतानको लागि नछोड । खाना खाइसकेपछि हातका औंलाहरू चाट, किनभने कुन दानामा बरकत छ कसैलाई पनि थाहा छैन ।” (मुस्लिम : २०३३)

हदीसलाई मनन् गर्दा ज्ञात हुन्छ कि शैतानलाई हाम्रो दिनचर्यामा हस्तक्षेप गर्न र बनेको कामलाई बिगार्न एकदमै मज्जा आउँछ । किनकि हाम्रो सबैभन्दा खतरनाक दुश्मन शैतान नै हो । ऊ सधैं हाम्रो जीवनबाट सुख, शान्ति, समृद्धि र बरकत मेटाउन प्रयासरत रहन्छ ।

brightness_1 थाल वा प्लेट सफा गरेर खानु ।

जुन थाल वा प्लेटमा खाना खाइन्छ त्यसमा भए भरको खाना केही न छोडीकन राम्रोसँग सफा गरेर खानु सुन्नत हो । किनभने छोडिएको खानामा पनि बर्कत हुनसक्छ ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई खानपिन गर्दा खानपिन गरेको भाँडा राम्रोसँग सफा गर्ने आदेश दिनुभएको छ ।” (मुस्लिम : २०३४)

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “हरेकले आफ्नो थाल सफा गरून् ।” (मुस्लिम : २०३५)

हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “खाना खाइसकेपछि हात र भाँडामा जे जति दानाहरू लागेको हुन्छ, त्यसलाई औंलाले चाट्नु सुन्नत हो । तर, विडम्बना के छ भने आज प्राय: मानिसहरू र कतिपय शिक्षितहरूले पनि यसको पालना गर्दैनन् ।” (शर्हो रियाजुस्सालेहीन १/८९२ मा हेर्नुहोस्)

brightness_1 पानी पिउने बेलामा भाँडा बाहिर ३ पटक सांस लिनु ।

हो, पानी पिउने बेलामा भाँडा बाहिर सांस लिदै ३ सांसमा पानी पिउनु सुन्नत हो ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ३ सांसमा पानी पिउनुहुन्थ्यो र भन्नुहुन्थ्यो : “यसरी पिउँदा अघाउन, तिर्खा मेटाउन र पानी घाँटीमा जानमा निकै मद्दत पुग्छ ।” (बुखारी : ५६३१), (मुस्लिम : २०२८)

सांस लिनुको अर्थ : पानी पिउने बेला रोक्दै भाँडा बाहिर सांस लिनु हो । किनभने पानीको भाँडा वा ग्लास भित्र सांस लिन मनाही छ । अबू-कतादह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “पानी पिउने बेला कसैले पनि भाँडामा सांस नलिऊ ।” (बुखारी : ५६३०), (मुस्लिम : २६७)

brightness_1 खाना खाइसकेपछि अल्लाहको प्रशंसा गर्नु ।

यसको प्रमाण :

अनस (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “भक्तले खानपिन गरेपछि अल्लाहको कृतज्ञता र प्रशंसा व्यक्त गर्ने कुरा अल्लाह तआलालाई एकदमै मन पर्छ ।” (मुस्लिम : २७४३)

कृतज्ञता र प्रशंसा व्यक्त गर्ने केही तरिकाहरू :

क) “अल्हम्दु लिल्लाहे कसीरन्, तैय्येबन्, मोबारकन् फीहे गैर मक्फीइन्, वला मोवद्दइन्, वला मुस्तग्नन् अन्हु रब्बना ।” (बुखारी : ५४५८)

ख) “अल्हम्दु लिल्ला हिल्लजी कफाना व अर्वाना गैर मक्फीइन्, वला मक्फूर ।” (बुखारी : ५४५९)

‘गैर मक्फीइन्’ को अर्थ : हे अल्लाह तपाईं बाहेक हामीलाई अरू कसैमाथि आश्रित नबनाउनु होस् ।

‘वला मोवद्दइन्’ को अर्थ : हे अल्लाह हामीलाई बेवास्ता नगर्नुहोस् ।

‘वला मक्फूर’ को अर्थ : हे अल्लाह हामी तपाईंको वरदानलाई कदापि इन्कार गर्ने छैनौं ।

brightness_1 खाना मन पर्यो भने त्यसको प्रशंसा गर्नु सुन्नत हो ।

यसको प्रमाण :

जाबिर (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले आफ्नो परिवारलाई सब्जी वा झोल ल्याउन भन्नुभयो । भित्रबाट जवाफ आयो : आज हामीसँग अचार बाहेक अरू केही छैन । उहाँले त्यही अचारसित खाना खानु भयो र भन्नुभयो : “वाह, अचार पनि कति मिठो !” (मुस्लिम : २०५२)

हाम्रो धर्मगुरू शैख इब्ने उसैमीन (रहेमहुल्लाह) ले भनेका छन् : “खान मन पर्यो भने त्यसको प्रशंसा गर्नु रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को बानी थियो । त्यसैले तिमीलाई यदि रोटी मन पर्यो भने तिमी त्यसको प्रशंसा गर, इत्यादि । (शर्हो रियाजुस्सालेहीन २/१०५७ मा हेर्नुहोस्)

तर विडम्बना के छ भने आज हामीले यो सुन्नतलाई बेवास्ता मात्र गरेका छैनौं, हामीले त्यसको विरोध नै गरेका छौं । विरोध गर्नुको अर्थ खानाको प्रशंसा गर्नुको सट्टा, हामी उल्टै त्यसको खराबी बयान गर्न थाल्छौं । अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले कहिल्यै पनि खानाको खराबी बयान गर्नु भएन, मन पर्यो भने खानु हुन्थ्यो नत्र नखाई उठ्नु हुन्थ्यो ।” (बुखारी : १८३), (मुस्लिम : ७६३)

brightness_1 खाना खुवाउनेलाई दुआ दिनु सुन्नत हो ।

यसको प्रमाण : अब्दुल्लाह बिन बुस्र (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मेरो बुवाको घरमा पाल्नुभयो, हामीले उहाँलाई घ्यू, खजुर र पनीरबाट तयार पारिएको हलुवा र केही खानेकुराहरू पस्कि दियौं । उहाँले केही खानुभयो । फेरी हामीले खजुर पेश गर्यौं । उहाँले केही खजुर लिनुभयो र खजुर खाएपछि त्यसको बीज (गेडा) आफ्नो चोर र माझी औंलामा राख्नुभयो । त्यसपछि फेरी हामीले शर्बत पेश गर्यौं । उहाँले केही शर्बत पिउनुभयो र बाँकी शर्बत आफ्नो दायाँतिर बसेको व्यक्तिलाई पिउन दिनुभयो । मेरो बुवाले उहाँको सवारीको लगाम थाम्दै भन्नुभयो- ‘हजुर, हाम्रो लागि अल्लाहसित दुआ गरिदिनुहोस् है’ । उहाँले दुआ गर्दै भन्नुभयो : “हे अल्लाह, उसको रोजीरोटीमा बरकत देऊ, उसको गुनाह (पाप) लाई क्षमा गरिदेऊ र ऊमाथि दया गरिदेऊ ।” (मुस्लिम : २०४२)

brightness_1 दायाँतिर बसेकालाई पहिला दिनु सुन्नत हो ।

शर्बत वा पानी आफैले खाइसकेपछि थोरै बचाएर पहिला दायाँतिर बसेकोलाई दिनु सुन्नत हो ।

यसको प्रमाण : अनस (रदियल्लाहु अन्हु) ले बयान गरेका छन्, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हाम्रो घरमा पाल्नुभयो अनि केही पिउने इच्छा गर्नुभयो । हामीले उहाँको लागि बाख्राको दुध दुयौं र कुवाको पानी त्यसमा मिलाएर उहाँलाई पेश गर्यौं । अबू-बकर उहाँको देब्रेतिर, उमर उहाँको अगाडि र एकजना गाउँले उहाँको दाहिनेतिर बसेका थिए । उहाँले केही दुध पिउनुभयो । त्यत्तिकैमा उमरले भने - ‘ए अल्लाहको रसूल, अबू-बकर यहाँ हुनुहुन्छ’ भनेर बाँकी दुध उनलाई दिन ध्यान आकर्षण गराउन खोजे, तर उहाँले अबू-बकर र उमरलाई छोडेर दाहिनेतिर बसेको गाउँलेलाई बाँकी दुध पिउन दिनुभयो र ३ पटक भन्नुभयो : “पहिला दाहिनेतिर बसेकालाई दिनुपर्छ । अनस (रदियल्लाहु अन्हु) ले भने : “हो, यही सुन्नत हो, यही सुन्नत हो, यही सुन्नत हो ।” (बुखारी : २५७१), (मुस्लिम : २०२९)

brightness_1 पिलाउने व्यक्तिले अन्तमा पिउनु ।

पाहुना र जमातलाई पानी पिलाउने व्यक्तिले सबैभन्दा अन्तमा पिउनु सुन्नत हो ।

यसको प्रमाण : अबू-कतादह (रदियल्लाहु अन्हु) को लामो हदीसमा छ, “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले एउटा भाँडामा पानी हाल्नु हुन्थ्यो र म सबैलाई पिलाउने गर्थे, यहाँसम्म कि म र उहाँ बाहेक कोही बाँकी रहेको थिएन । रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले अब तिमी पनि पिऊ भन्नुभयो । मैले जवाफ दिएँ, जबसम्म हजुर पिउनुहुन्न म पिऊदिनँ । उहाँले जवाफ दिनुभयो : बाँड्ने व्यक्तिले अन्तमा पिउनु पर्छ के, फेरी मैले पिएँ अनि त्यसपछि उहाँले पिउनुभयो ।” (मुस्लिम : ६८१)

दुध पिएपछि मुख कुल्ला गर्नु सुन्नत हो, किनभने त्यसमा चिल्लोपन हुन्छ ।

यसको प्रमाण : अब्दुल्लाह बिन अब्बास (रदियल्लाहु अन्हुमा) को हदीसमा छ : “रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले दुध पिउनुभयो र पानी मागेर मुख कुल्ला गर्दै भन्नुभयो : “यसमा चिल्लोपन हुन्छ ।” (बुखारी : २११), (मुस्लिम : ३५८)

brightness_1 रात पर्ने बित्तिकै बिस्मिल्लाह भनेर भाँडाकुँडा छोप्नु ।

अर्थात साँझ हुनेबेला बिस्मिल्लाह भनेर खुल्ला भाँडाकुँडा र पानीको भाँडा छोप्नु सुन्नत हो ।

यसको प्रमाण : जाबिर बिन अब्दुल्लाह (रदियल्लाहु अन्हुमा) ले बयान गरेका छन्, मैले रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्दै गरेको सुनें, उहाँले भन्नुभयो : “भाँडाकुँडा छोपेर राख, पानीको भाँडाको मुख बन्द गर, वर्षमा एकपटक हैजा आउँछ, जुन नछोपिएको भाँडाकुँडा र पानीको भाँडामा पस्न सक्छ ।” (मुस्लिम : २०१४)

जाबिर (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “पानी र खानाको भाँडाकुँडा बिस्मिल्लाह भनेर छोप्ने गर, छोप्ने ढक्कन छैन भने कुनै पनि वस्तु तेर्स्याएर राखि देऊ ।” (बुखारी : ५६२३)