languageIcon
search
search
brightness_1 वजू गरेर मस्जिद जानु ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “एक्लै घरमा वा बजारमा पढेको नमाजको तुलनामा जमातको साथमा पढ्नाले २७ गुणा ज्यादा पुण्य मिल्छ । किनभने जब कोही वजू गरेर मस्जिदमा सलाह पढ्ने उद्देश्यले आउँछ भने मस्जिद नपुगुन्जेल उसले जति कदम चाल्छ, हरेक कदममा एउटा नेकी पाउँछ र एउटा पाप क्षमा हुन्छ । त्यसैगरी “मस्जिदमा सलाहको प्रतिक्षामा बस्दा जबसम्म उसले कसैलाई दु:ख दिदैन र उसको वजू टुट्दैन, तबसम्म फरिश्ताले उसको लागि दुआ गरिरहन्छ; हे अल्लाह, ऊमाथि दया गर, हे अल्लाह, उसलाई क्षमा गरीदेऊ । हे अल्लाह, उसको तौबा कबुल गर ।” (मुस्लिम : ६४९)

brightness_1 २ रकात तहीयतुल्-मस्जिद पढ्नु सुन्नत हो ।

यदि कोही जमात शुरू हुनु भन्दा पहिला मस्जिदमा आउँछ भने उसले बस्नु भन्दा पहिला २ रकात तहीयतुल्-मस्जिद पढ्नुपर्छ ।

यसको प्रमाण : अबू-कतादह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “कोही मस्जिदमा प्रवेश गर्छ भने २ रकात नपढुन्जेल नबसुन् ।” (बुखारी : ११६३), (मुस्लिम : ७१४)

स्मरण रहोस् : फज्र र जोहरको सलाहका सुन्नत मोअक्कदा पढिसकेपछि पुनः तहीयतुल्-मस्जिद पढ्नु पर्दैन । त्यसैगरी चाश्त वा वित्रको सलाह पढिसकेपछि पुनः तहीयतुल्-मस्जिद पढ्नु पर्दैन । किनभने यी सुन्नतहरूले तहीयतुल्-मस्जिदको उद्देश्य पुरा हुन्छ ।

brightness_1 पुरूषहरू छिटो गएर पहिलो सफ (पंक्ति) मा सामेल हुनु सुन्नत हो ।

पुरूषहरू छिटो गएर पहिलो सफ (पंक्ति) मा सामेल हुनु सुन्नत हो । किनभने पुरूषको लागि प्रथम सफ र महिलाको लागि अन्तिम सफ राम्रो हो ।

यसको प्रमाण : अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “पुरूषहरूको सबैभन्दा विशिष्ट सफ (पंक्ति) पहिलो सफ हो र सबैभन्दा कमसल सफ अन्तिम सफ हो । महिलाहरूको सबैभन्दा विशिष्ट सफ अन्तिम सफ हो र सबैभन्दा कमसल सफ पहिलो सफ हो ।” (मुस्लिम : ४४०)

यदि पुरूष र महिलाको जमात एकसाथ हुन्छ र बीचमा केही पर्दा वा बाधक छैन भने त्यो अवस्थामा महिलाको सबैभन्दा विशिष्ट सफ अन्तिम सफ हुनेछ, किनभने यसरी अन्तिम सफमा महिलाहरूको जमात हुने हुदा उनीहरू पुरूषहरूको आँखाबाट टाढा हुन्छ ।

तर बीचमा कुनै पर्दा वा पर्खाल छ वा मस्जिदमा महिलाको लागि छुट्टै सलाह पढ्ने व्यवस्था गरिएको छ भने महिलाको लागि पनि पहिलो सफ नै विशिष्ट हुन्छ ।

पहिलो सफको महत्वबारे केही हदीसहरू यस प्रकार छन् :

अबू-हुरैरह (रदियल्लाहु अन्हु) को हदीसमा छ, रसूल सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ : “अजान र पहिलो सफ (पंक्ति) को कति महत्व छ ? यदि मानिसहरूलाई थाहा हुने हो भने उनीहरू पहिलो सफ (पंक्ति) मा सलाह पढ्न गोलाप्रथा गर्न बाध्य हुनेछन् । त्यसैगरी सलाहको लागि मस्जिदमा छिटो जाँदा कति पुण्य मिल्छ भन्ने कुरा थाहा हुने हो भने उनीहरू प्रतिस्पर्धा गर्नेछन् । ईशा र फज्रको सलाहको कति महत्व छ भन्ने कुरा मानिसहरूलाई थाहा हुने हो भने उनीहरू घिस्रेरे भए पनि सलाहको लागि आउनेछन् ।” (बुखारी : ६१५), (मुस्लिम : ४३७)